इनरुवा भाद्र १८/सुनसरीका बाढी प्रभावित क्षेत्रमा एकिकृत जनस्वास्थ्य प्रर्वद्धनात्मक अभियान संचालनमा ल्याइएको छ । अभियानको आइतबार हरिनगरा गाउँपालिकाबाट सुरुवात गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली, स्थानीय विकास अधिकारी तुलषीबहादुर श्रेष्ठ र गाउँपालिका अध्यक्ष गफार अन्सारीले संयुक्त रुपमा अभियानको शुभारम्भ गरेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीको आयोजनामा अभियान अन्र्तगत सुनसरीको इटहरी उपमहानगरपालिका, बराह नगरपालिका र बर्जु गाउँपालिकामा समेत स्वास्थ्य प्रर्वद्धनात्मक कार्यक्रम संचालनमा ल्याइने छ । साउन अन्तिम साताको बाढीका कारण प्रभावित भेगका सर्वसाधारणलाई लक्षित गरी सचेतना सँगै स्वास्थ्योपचार सहितको एकिकृत जनस्वास्थ्य प्रवद्धनात्मक कार्यक्रमलाई अभियानका रुपमा अघि बढाइएको जिल्ला जनस्वास्थ्य प्रमुख मुकुन्दराज गौतमले बताए ।
उक्त कार्यक्रम मार्फत सर्वसाधारणले विशेषज्ञ स्वाथ्योपचार सेवा तथा परामर्श, सरसफाई सँगै पौष्टिक आहार बारेको जानकारी र निःशुल्क औषधी सेवा लिन सक्ने जनस्वास्थ्य निरीक्षक राजनारायण मण्डलले जानकारी दिए ।








