इनरुवा भाद्र २५/सुनसरीमा संयुक्त बजार अनुगमन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको सरोकारवालाहरुको बैठकले संयुक्त बजार अनुगमन निर्देशिका, २०६९ परिमार्जन सहितले तोके बमोजिम अनुगमन अघि बढाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको संयोजकत्वमा बसेको बैठकले हप्ताको १ दिन गरिँदै आएको बजार बन्द चाडबाडलाई लक्षित गरी सो अवधीभर खुल्ला गर्ने सहमित समेत जनाएको छ । निर्देशिका बमोजिम क्षेत्रगत संयन्त्रले आआफ्नो क्षेत्रमा अनुगमनको नेतृत्व गर्नेछ । अनुगमनलाई स्थानीय तहसम्म पुर्याइने र उद्योग वाणिज्य संघको समन्वयमा सुलभ पसल सञ्चालन गर्ने समेत बैठकले निर्णय गरेको छ ।
सरकारी कार्यालय, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाहरुको उपस्थिती रहेको उक्त बैठकले कालोबजारी नियन्त्रण, स्वदेशी उत्पादनको विक्रिवितरण तर्फ प्रोत्साहन, स्वस्थ र गुणस्तरीय वस्तु विक्री साथै नियम बिपरित जानेका हकमा कार्वाही जस्ता विषयमा समन्वय गरी अघि बढ्ने सहमति जनाएको छ ।









