१७ असोज, राजविराज दिलिप साह। सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका भारदह स्थित कंकालिनी मन्दिरमा चार सय ९८ सय राँगा तथा १२ हजार खसीबोकाको बली प्रदान भएको छ ।
यस वर्ष दशैंको महानवमीका दिन उक्त संख्यामा राँगाको बली प्रदान गरिएको कंकालिनी मन्दिर विकास समितिका कोषाध्यक्ष सत्यनारायण मण्डलले जानकारी दिनुभयो । गत वर्ष २०७३ सालमा चार सय ५३ राँगाको बली चढाएको थियो भने २०७२ सालमा तीन सय ९२, २०७१ मा चार सय ४६ राँगाको बली प्रदान भएको थियो । यस्तै २०७० सालमा तीन सय ९१ वटा तथा २०६९ सालमा तीन सय ३७ वटा राँगाको बली प्रदान गरिएको थियो ।
सो मन्दिरमा करिब १२ हजारको संख्यामा बोका तथा अन्य पशुपंक्षिको बली समेत प्रदान भएको छ । यस वर्ष कंकालनी मन्दिरमा झण्डै दुई सय ५० भन्दा बढी स्थानिय स्वयमसेवकहरुको मद्दतले शान्ति सुरक्षा प्रदान गरिएको थियो । सन्तानका प्राप्ती, जटील रोगबाट स्वास्थ्यलाभ, जीवन रक्षाका, पेशा र रोजगारी संकटबाट मुक्ती प्राप्तीको लागि वर्षौदेखि विभिन्न किसिमको मनोकामनाका लागि ‘भाकल’ गर्दै आएका छन् ।
मनोकामना पूरा भएपछि ‘भाकल’ गर्नेहरुले विजयादशमीको ‘महानवमी’ का दिन राँगाको बली दिने गर्छन् । यसबाहेक खसीबोका, परेवा, मिठाई तथा गर–गहना समेत चढाउने गरिन्छ । नेपालमै गढिमाई पछिको ठुलो संख्यामा यसै मन्दिरमा राँगाको बली प्रदान समेत हुने गरेको छ ।
यस मन्दिरको प्रमुख विशेषता पनि राँगा बली प्रदान नै हो । विजयदशमीको ‘महानवमी’को दिन यहाँ राँगा बली प्रदान वर्षौदेखि हुँदै आएको छ । मन्दिर स्थापनाकालमा पाँचवटा राँगाको बली प्रदान गरेको थियो । सप्तरी, सुनसरी, मोरङ्ग, सिरहा, सर्लाही, झापा लगायतका जिल्लाका श्रद्धालुहरुले पुजापाठकालागि आउने गरेको मन्दिर विकास समितिको जनाएको छ । नेपालबाहेक भारत बिहारको वीरपुर, फारबीसगंज, पटनासम्मका भक्तजनहरु राँगा बली प्रदान गर्न आउने गरेका छन ।








