सिन्धुपाल्चोक । सरकारी अधिकारी र राजनीतिक दलका नेताहरूले भोटेकोसीमा झरेको पुलको बदला महिनाभित्रै बेलिब्रिज राखेर यातायात सञ्चालन गर्ने घोषणा गरेको तीन महिना बितेको छ । तर, यस अवधिमा सामग्री ढुवानी र जग निर्माणको सुरुवातबाहेक थप प्रगति हुन सकेको छैन । यसबाट चीनको सीमा तातोपानी र आसपासका बासिन्दा यातायातबाट वञ्चित छन् । बिरामीको उपचार, खाद्यान्न तथा औषधि ढुवानीमा सबैभन्दा बढी समस्या छ ।
साउन ८ गते राति स्थानीय पाङ्सेर्पु पहाड खसेर लार्चाको मोटरेबल पुल भोटेकोसीमा झरेको थियो । पुल भत्केपछि सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले घटनास्थलको निरीक्षण गरी साताभित्रै बेलिब्रिज निर्माण सुरु हुने जनाएका थिए । त्यतिबेला कांग्रेस, एमाले र माओवादीका स्थानीय नेताले समेत यही रटान लगाए । पुल बनाउन आफ्नो पार्टीले पहिले पहल गरेको भन्दै कार्यकर्ताले गाउँगाउँमा नारा लगाए ।
अहिले उनीहरू चुपचाप छन् । पुुल भोटेकोसीमा झरेलगत्तै निर्माण सामग्री ल्याइएको थियो । अहिले भने कामै रोकिएको छ । २–४ जना कामदार लगाएर जग खनेजस्तो गरिएको छ । सडक डिभिजन कार्यालयकी इन्जिनियर शीला न्यौपानेले सुख्खा पहिरो र भौगोलिक जटिलताले पुल निर्माण रोकिएको बताइन् ।
सीमास्थित सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) हजारिलाल जैसवालका अनुसार लार्चामा मोटरेबल पुलको स्थानमा बेलिब्रिज नबनेसम्म तातोपानीसँगको सम्पर्क बलियो बन्न सक्दैन । ‘सुख्खा पहिरोले कोसी थुनियो भने अस्थायी रूपमा बनाइएको फड्के बगाउन सक्छ,’ उनले भने, ‘कोसीमाथिको ढुंगामा अड्याइएको फलामे पुल सुरक्षित छैन । स्थानीय आउजाउ गर्न डराउने गरेका छन् ।’ भत्किएको पुलको अवशेष थुप्रिएकाले कोसी बग्ने स्थान साँघुरिएको छ । ‘पुल भत्किएपछि तातोपानी दुर्गमसरह भयो,’ स्थानीय वीरबहादुर तामाङले भने । बर्खासँगै खसेको पहिरो हालसम्म थामिएको छैन । २२ सय धुरीको बसोबास रहेको तातोपानीमा यात्रा जोखिम बन्दै गएपछि अधिकांशले घर छोडेका छन् । विपन्न परिवार मात्रै जोखिम मोलेर आफ्नै थलोमा बसिरहेका छन् । खाद्यान्नले केही समय पुग्ने भए पनि स्वास्थ्य, शिक्षा, विद्युत् र टेलिफोनविहीन हुँदा उनीहरू समस्यामा परेका हुन् ।
यातायात रोकिँदा कृषक मारमा
दुर्गम जुगल गाउँपालिका जोड्ने सडक सञ्चालन नहुँदा कृषक मारमा छन् । उनीहरूले उत्पादित सामग्री बिक्रीका लागि बजार पुर्याउन सकेका छैनन् ।
‘सडक क्षतिग्रस्त छ, त्यसैले उत्पादन बजारमा लैजान पाएनौं, घरमै थुप्रिएर बस्यो,’ जुगल गाउँपालिका गोल्चेका सलिन तामाङले भने, ‘बल्लतल्ल उब्जाएको उत्पादन बेच्न नपाउँदा घरखर्च धान्न मुस्किल छ ।’
हिमाली गाउँ गोल्चेसम्म जोडिएको सडक सधैं बर्खापछि ठप्प हुने गरेको छ । बर्खाले सडक भासिएपछि यातायात पूर्णरूपमा बन्द छ । असोज लागिसक्दा अझै सडक सञ्चालनमा आउन सकेको छैन । जुगलका कृषकको मुख्य आयस्रोत आलु र कोदो हो । उत्पादित सामग्री लामो समय घरमै थन्किँदा कुहिएर बिग्रने अवस्थामा पुगिसकेको कृषकको भनाइ छ । आलु बिग्रने डरले प्रायस्ले खेतमै छोपछाप पारेर कुर्ने गरेका छन् । आलु नबिग्रने आसमा कृषकले यस्तो गरेको सलिनले प्रस्ट्याए ।
‘सडक चल्दा घरमै साहू उत्पादन लिन आइपुग्थे, नत्र हामी जलवीरे बजारमा लिएर पुग्थ्यौं,’ हगामका नकुल तामाङले भने, ‘यसपल्ट धेरैले आलु बिग्रने डरले ढिलो गरी खनेका छन्, प्रायस्ले खेतमै थन्काएका छन् ।’ नकुलका अनुसार दुर्गम सेलाङ, गोल्चे, हगाम, पाङताङदेखि गुम्बासम्म जोड्ने सबै सडक तहसनहस छन् । ‘हाम्रो आयको मुख्य स्रोत आलु हो,’ उनले भने, ‘यही बिक्री नभएपछि कसरी घर चलाउने हो ?’ उनले उत्पादन बेच्न नपाएकाले यो वर्षको दसंै ऋण लिएर मनाएको बताए ।
गएको दसंैमा आलु बेचेर ४० हजार कमाएका नकुललाई यस वर्ष दसंैले २० हजार ऋण बोकाएर गएको छ । बलेफी गाउँपालिकाको जलवीरे बजारसम्म उत्पादन बोकेर लैजान पाँच घण्टासम्म लाग्ने भएपछि आँट गर्न नसकेको उनको भनाइ छ ।
‘बाटो हिलाम्मे छ । लामो समय लाग्ने भएपछि सवारीसाधन आउन मान्दैनन्,’ नकुलले भने, ‘बोकेरै लैजान जलवीरे बजारसम्म धेरै गाह्रो छ ।’ उनले जुगल गाउँपालिका कार्यालयमा सडकसम्बन्धी समस्या राख्दा चाँडै मर्मत अघि बढाउने आश्वासन पाएको बताए ।
‘सडकको समस्या साँच्चै जटिल बनेको छ, यसको कहिल्यै स्थायी मर्मत हुन सकेको छैन,’ जुगल गाउँपालिकाकी उपप्रमुख सिर्जना तामाङले भनिन्, ‘अब चाँडै सडक स्थायी बनाउन काम अगाडि बढाउने तर्खरमा छौं ।’ उनले गाउँपालिकाले कृषकलाई आत्मनिर्भर बनाउन अन्य सीपमूलक तालिम दिने कार्यक्रम बनाइरहेको सुनाइन् ।
कृषि पेसामा निर्भर जुगलवासीको प्रमुख उत्पादन आलु जलवीरे, बलेफीदेखि राजधानीसम्म खपत हुने गरेको छ । तर, अहिले सडककै समस्याले उत्पादन बजार पुग्न नसकेको उपप्रमुख तामाङले जानकारी दिइन् ।आजको कान्तिपुर दैनिकमा खबर छ।









