काठमाडौँ  । नेपालमा अवैध बिटक्वाइनको आधिकारिक एक्सचेन्ज गराउने बिटसेवाका दुईजना सञ्चालकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ। सिआइबीले काठमाडौं–२७ का पुरुषोत्तमधर तुलाधार र कास्की सराङकोट–२ का राम ढकाललाई बुधबार पक्राउ गरेको हो। उनीहरू दुवै बिटसेवा प्रालिका सञ्चालक रहेको सिआइबी स्रोतले जनाएको छ। बिटसेवा सञ्चालन गर्ने अन्य दुईजना भने फरार छन्।

सिआइबीले उनीहरूलाई एक महिनादेखि खोजिरहेको थियो। बिटसेवाले बिटक्वाइन तथा अन्य अल्टरनेटिभ क्वाइनहरू इथेरियम, लिटक्वाइन, ड्यासलगायत दर्जनौँ क्रिप्टोकरेन्सीको एक्सचेन्ज सेवा प्रदान गरिरहेको थियो। बिटसेवाले क्वाइनहरूको किनबेचमा १ प्रतिशत कमिसन लिने गरेको थियो। सिआइबीले गत २० असोजमा अवैध क्रिप्टोकरेन्सीका सातजनालाई पक्राउ गरेपछि बिटसेवाले आफ्नो कारोबार बन्द गरेर सर्भरका तथ्यांकसमेत मेटाएको थियो।

‘क’ वर्गको वाणिज्य बैंककै खाता प्रयोग गरेर नेपालमा अवैध बिटक्वाइन कारोबार हुने गरेको खुलेको छ। नेपालमा बिटक्वाइनको आधिकारिक एक्सचेन्ज बिटसेवा प्रालिले नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) लगायत केही बैंकमा खाता खोली सो खातामार्फत बिटक्वाइन कारोबार सञ्चालन गरेको खुलेको हो। बिटक्वाइन कारोबारीले नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी बैंक), नबिल बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, जनता बैंक, मेगा बैंक, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंकमा रहेको विभिन्न व्यक्तिको खातामार्फत कारोबार गरेका छन्।

ती बैंकमा रहेका खातामा बिटक्वाइन कारोबारीले इसेवामार्फत रकम पठाउने र प्राप्त गर्ने गरेका थिए। यसबारेमा जिज्ञासा राख्दा एनसिसी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रेवन्तकुमार दाहालले आफ्नो बैंकमा बिटसेवाको खाता रहेको स्वीकार गरे। ‘हाम्रो बैंकमा बिटसेवाको कारोबार रहेको पत्ता लागेको छ। तर, त्यो खाता कसरी खुल्यो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ,’ उनले भने। बिटसेवाको खाता बैंकमा रहेकोबारेमा नेपाल राष्ट्र बैंकले पनि सोधेको उनले जानकारी दिए। सो कम्पनीले अवैधानिक बिटक्वाइन कारोबार गर्छ भन्ने जानकारी बैंकका कर्मचारीलाई नभएर खाता खुलेको हुन सक्ने उनले बताए।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अन्य उद्देश्य राखेर दर्ता भएको कम्पनीले झुक्याएर बैंकहरूमा खाता खोलेको हुन सक्ने बताए। ‘त्यस्ता कम्पनीले बिटक्वाइन कारोबार गरेको भए त्यो गम्भीर बैंकिङ ठगी हो, यसमा प्रहरी प्रशासन र राष्ट्र बैंकले तत्काल अनुसन्धान गर्नुपर्छ, त्यसमा सहयोग गर्न हामी तयार छौँ,’ उनले भने। आफ्नो बैंकमा बिटसेवाको खाता नभएको र व्यक्तिको खाता भए–नभएको विषयमा अनुसन्धान गरिरहेको उनले बताए।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने आफ्नो बैंकमा बिटसेवाको खाता नभएको, तर कुनै सञ्चालकको भएको भए त्यो अनुसन्धानपछि खुल्ने बताए। कुमारी बैंकका सञ्चार अधिकृत राजेश श्रेष्ठले आफ्नो बैंकमा बिटसेवाको खाता नरहेको बताए। ग्लोबल आइएमई बैंक, मेगा बैंक, जनता बैंकले पनि आफ्नो बैंकमा बिटसेवाको खाता नरहेको जनाएका छन्। अाजकाे नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia