हाल विकसित देशहरुमा धाराको पानी भाँडोमा थापेर निसंकोच पिउन सकिन्छ । पानी सिधै पिउँदा झाडापखाला वा टाइफाइड वा अन्य पानीजन्य रोगले शरीरमा आक्रमण गर्ला भन्ने एकरत्ति शंका हुँदैन । तर, एक शताब्दी अघिमात्रै परिस्थिति त्यस्तो थिएन । अमेरिकाजस्ता देशहरुमा समेत त्यतिबेला झाडापखालाबाट दैनिक हजारौं मानिसहरु मर्दथे । अमेरिकी शहरका घरमा आउने पानीहरुमा मलमुत्र मिसिएको हुन्थ्यो । पानीलाई भाँडोमा थाप्दा फोहरका छोक्राहरु माथि तैरिएको हुन्थ्यो । पत्रिकाहरुमा धाराको पानीमा सुप आएको भनेर व्यंग्य गरेर सम्पादकीय लेखिन्थ्यो ।

बिसौं शताब्दीको शुरुवातताका विख्यात जर्मन लेन्स मेकर कार्ल जेइसले बनाएका लेन्सहरुबाट बनेका माइक्रोस्कोपहरुबाट पानीमा रहेका सुक्ष्म व्याक्टेरियाहरुलाई मापन गर्न सकिने विधि पत्ता लाग्यो । अर्थात् एक थोपा पानीमा हानीकारक ब्याक्टेरियाको घनत्व (density) कति छ भनेर अनुमान गर्न सकिने भयो जुन विधिको पत्ता लगाएका थिए रोबर्ट कोचले । उनी ब्याक्टेरिया अध्ययनका पितामह मानिन्छन् । सन् १९०५ मा जर्मन वैज्ञानिक रोबर्ट कोचले क्षयरोगको जिवाणु पत्ता लगाएबापत नोवल पुरस्कार पाए । त्यतिखेर उनले आफ्नो सफलताको श्रेय कार्ल जेइसले बनाएका माइक्रोस्कोपलाई दिएका थिए ।

पानीमा रहेको ब्याक्टेरियाको घनत्व मापन गर्नसक्ने भएपछि त्यसलाई सखाप पार्न ठीक अनुपातको किटनाशक औषधीको बारेमा अनुसन्धान शुरु भयो । त्यसको अगुवाइ गरे अमेरिकी डाक्टर जोन लिलले । उनको बुबाको मृत्यु दुषित पानीको कारण भएको थियो । उनमा ब्लिचिङ पाउडर वा क्लोरिन भनिने क्याल्सियम हाइपोक्लोराइडसँग विषेश रुची थियो । किनभने त्यो रसायन त्यतिबेलाका अस्पतालहरुमा किटाणुसोधन (disinfection) गर्न त्यसको प्रयोग गरिन्थ्यो । तर क्लोरिन धेरै परिमाणमा खाएमा मानिसको ज्यान जाने विषालु रसायन थियो ।

लिललाई लाग्थ्यो, उचित परिमाणमा यसलाई मिसाउन सके पानीमा हुने घातक जीवाणु मर्छ र मानिसलाई पनि हानी गर्दैन । जब जोनले न्यूजर्सी शहरको पानी आपूर्ति कम्पनीको जिम्मा लिए । उनले सरकारी अनुमति विना नै त्यहाँको पानी ट्याङ्कीमा क्लोरिन मिसाएर त्यस्तो पानीको वितरण गर्न थाले । जुन मानव इतिहासमै पहिलो क्लोरिनयुक्त पानीको सामूहिक वितरण थियो । एक हिसाबले भन्दा जोन लिलले ठूलो दुस्साहस गरेका थिए ।

उनले मिसाएका क्लोरिनको उचित मात्रा नहुँदो हुन्थ्यो भने त्यसले लाखौं मानिसहरुको ज्यान जानसक्थ्यो । उनले लाखौं मान्छेहरुको ज्यानलाई दाउमा लगाएका थिए । उनको त्यो विधिको कुनै प्रारम्भिक अध्ययन समेत भएको थिएन । तर, उनले गोप्य रुपमा त्यो दुस्साहास गरे र त्यसको केहि समयपछि न्यूजर्सीमा जादु भयो । मानिसहरु पानीजन्य रोगका कारण कम मर्न थाले । र, जोनको उक्त विधि अमेरिका र संसारभर फैलियो ।एक अध्ययनअनुसार सन् १९०० देखि १९३० सम्म क्लोरिनयुक्त पानीको कारण अमेरिकाको बाल मृत्युदर ७४ प्रतिशतसम्म घटेको थियो ।

ब्लिचिङ पाउडर र विकिनीको यस्तो साइनो
पानी सुरक्षित भएपछि प्रथम विश्वयुद्धको समाप्तिसँगै अमेरिका दश हजार सार्वजनिक पौडी पोखरी बनाइए । त्यो कुरा बेग्लै हो कि कुनै बेला नुहाउने कुरा पश्चिमा समाजमा बर्जित जस्तै थियो । अहिलेजस्तो दिनहुँ नुहाउने त परै जाओस् । मानिसहरु बर्षौंसम्म ननुहाई बस्दथे । पौडी पोखरी बनेपछि नुहाउन नखोज्नेहरु आमरुपमा पौडी खेल्न थाले । त्यतिबेला महिलाहरु पौडी पोखरीमा जाँदा पुरै शरीर ढाक्ने वस्त्र लगाएर जान्थे ।

सन् १९२० सम्ममा महिलाहरु पौडी पोखरीमा पुग्दा घुडाँसम्म देखाउन सक्ने भए । त्यसपछि तिघ्रा र शरीरको पछाडिको भाग र उपल्लो भाग पनि खुल्दै गयो । सन् १९२० मा एक महिलाको लागि पोखरी पहिरन बनाउन ९ मिटर कपडा चाहिन्थ्यो भने सन् १९३० मा आउँदा त्यो खुम्चिएर एक मिटर भन्दा कम (खासमा ९० सेन्टीमिटर) भए पुग्ने भयो । र, यसरी क्लोरिन क्रान्तिले महिलाको पहिरनमा पनि क्रान्ति ल्यायो । ब्लिचिङ पाउडरको प्रयोगले विकिनी जन्मायो ।साझापोष्टको सहयोगमा

तपाईको प्रतिक्रिया

trusted online casino malaysia