आयुष्मान घिमिरे
छालारोग विशेषज्ञ
धेरै मानिस कपाल झरेर तनावमा हुन्छन् । मानिस सुन्दर देखिनका लागि कपालको पनि भूमिका हुने भएकाले अधिकांश यस विषयमा सजग रहन्छन् । तैपनि वंशाणुगत गुण या अन्य कारणले मानिस कपाल झर्ने समस्याबाट ग्रसित भइरहेका हुन्छन् । यसबाट मुक्ति पाउनका लागि विभिन्न खालका औषधि र अन्य विधि पनि अपनाइरहेका हुन्छन् । तर, विज्ञानले यस्ता व्यक्तिका लागि पनि विकल्प दिएको छ । कपाल प्रत्यारोपण गर्ने प्रविधि नै विकास भइसकेको छ । यसरी गरिन्छ कपाल प्रत्यारोपण :
यसरी गरिन्छ कपाल प्रत्यारोपण
अधिकांश कपाल झरेका मानिसको पछाडि भागमा भने रहिरहन्छ । टउकोको पछाडिपट्टिको भागलाई ‘एन्ड्रोजेन इन सेन्सेटिभ एरिया’ पनि भनिन्छ । त्यही भागको कपाल निकालेर झरेको ठाउँमा एक–एक गरी प्रत्यारोपण गरिन्छ । सर्जरीका माध्यमबाट कपाल प्रत्यारोपण गरिने भए तापनि बेहोसचाहिँ बनाउनुपर्दैन । कपाल निकाल्ने र प्रत्यारोपण गर्ने भागमा लोकल एनेस्थेसिया दिइन्छ, जसले प्रत्यारोपण गर्नका लागि सजिलो पार्छ । कपाल र छाला काटेर मेसिनबाट रोप्ने गरिन्छ ।
छाला काटेर कपाल रोप्दा
छाला काटेर कपाल रोप्दा सो स्थानमा खत भने बस्न सक्छ । यसरी प्रतयारोपण गरेको ठउँमा एक–दुई हप्तासम्म दुख्न पनि सक्छ । कतिपय मानिसलाई रगत बग्ने सम्भावनासमेत रहन्छ । तर, केही समयको अन्तरालपछि भने मानिसको कपाल वा टाउको पहिलेकै अवस्थामा फर्कन्छ । यसरी प्रत्यारोपण गरेको मानिसले केही दिन आराम गर्न भने आवश्यक छ । केही दिन भने रेस्ट गर्नुपर्ने हुन सक्छ ।
मेसिनबाट कपाल रोप्दा
कपाल काटेर प्रत्यारोपण गर्नुभन्दा मेसिनले कपाल रोप्दा मानिसलाई अलि सहज हुन्छ । किनभने, यसरी कपाल रोपियो भने टाउको लामो समयसम्म दुख्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । यसरी कपाल प्रत्यारोपण गरेको मानिसले एक–दुई दिन मात्र पीडा खप्दा हुन्छ । खासमा कपाल रोपेको ठाउँमा टाँका लगाउनु पनि पर्दैन । यसरी मेसिनबाट कपाल प्रत्यारोपण गर्दा सामान्य रगतचाहिँ बग्न सक्छ ।
असर गर्छ कि गर्दैन ?
कतिपय मान्छेमा कपाल प्रत्यारोपण गर्दा गम्भीर असर पर्छ भन्ने धारणा पनि हुन सक्छ । तर, कपाल प्रत्यारोपणले त्यति ठूलो असर भने पुर्याउँदैन । औषधिको प्रयोगले एलर्जी भने हुन सक्छ । कसैलाई चिन्ता बढेजस्तो महसुस पनि हुन्छ । शल्यक्रियापछि कपाल रोपिएको ठाउँमा हल्का दुखाइको अनुभव भने हुन्छ । कतिपय मान्छेपिच्छे यसको प्रभाव पर्न सक्छ । आँखा र निधार सुन्निने सामान्य समस्या देखिए पनि मस्तिष्कलाई भने कुनै असर पुर्याउँदैन ।नयाँ पत्रिकाबाट








