३ पौष, उर्लाबारी। स्वदेशमै केही व्यवसाय गरौँ भन्ने उदेश्यका साथ विदेशमा सिकेको सीप र आर्जन गरेको रकमलाई गाउँमै लगानी गरेर उर्लाबारी नगरपालिकाका – २ का अम्बिका खतिवडाले उदाहरणीय काम मात्र गर्नु भएको छैन, व्यावसायिक कृषितर्फ युवा पुस्तालाई आकर्षित तुल्याउनुभएको छ ।

दुबईमा केही वर्ष काम गरेर नेपाल फर्कनु भएका खतिवडाले यसै वर्षबाट आयुष्मान कृषि फार्म स्थापना गरेर आग्र्यानिक तरकारी उत्पादनमा जोड दिनुभएको छ । साथै उहाँले माछा, हाँस, कुखुरा पालन पनि गर्नुभएको छ । उहाँले उर्लाबारी – २ मा करिब अढाई बिगाहा जग्गामा अग्र्यानिक तरकारी खेती सुरु गर्नुभएको छ । अहिले फार्ममा आलु, प्याज, टमाटर, सिमी, खुर्सानी लगायतका मौसमी तथा बेमौसमी तरकारी लगाइएको छ ।

जग्गा भाडामा लिएर रु २८ लाखको लगानीमा खतिवडाले सुरु गर्नुभएको सो फार्ममा दश जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । फार्मबाट उत्पादित तरकारी केही मात्रामा स्थानीयस्तरमै तथा बाँकी पूर्वका बिभिन्न शहरमा बिक्री गर्ने खतिवडाको योजना छ । ‘परम्परागत खेतीलाई छाडेर आधुनिक खेतीमा उन्मुख गराउने उद्देश्यले फार्म खोलेको हुँं,’ खतिवडाले भन्नुभयो, ‘युवाहरू पैसा कमाउन विदेश जानुपर्दैन । थोरै लगानीमा पनि स्वदेशमै बसेर कुनै पनि काम गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन पनि फार्मको स्थापना गरेको छुँ ।’ उक्त फार्मबाट अबको एक-दुई महिनापछि आम्दानी लिने खतिवडाले बताउनुभयो । वैदेशिक रोजगारमा जान आतुर युवालाई गाउँमै व्यवसायिक एवम् अग्र्यानिक कृषि उत्पादन गरी रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले आफूले सो फार्म सञ्चालन गरेको खतिवडाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia