५ पौष, जयकृष्ण यादव इनरुवा। सुनसरीमा प्रत्येक वर्ष कागजी रुपमा माछाको क्षेत्रफल बढ्दै गएको भएपनि सुनसरीका ७० प्रतिशत बढी उपभोक्ताले अझैपनि भारतिय गुणस्तरहिन माछा खान बाध्य भएका छन् । सरकारको अनुदान पाएर माछा पालन गर्ने क्रम बढेको तथ्याकंले देखाएपनि व्यवहारिक रुपमा माछा पालन जिल्लामा फस्टाउन नसकेको स्थानीयहरुले बताएका छन् ।
प्रत्येक वर्ष सरकारी अनुदान प्रति हेक्टर ३ लाख रुपियाँका दरले अनुदान लिएर पोखरी बनाउने र माछा पाल्ने क्रम बढेको देखिएपनि उपभोक्ताहरुले अस्वस्थ्यकर विषादीयुक्त माछा खान बाध्य भएका छन् । जिल्लामा पोखरी संख्या १ हजार ५ सय ३० रहेको र कुल ४ सय २५ हेक्टर क्षेत्रफलमा माछा खेति हुदै आएको तथ्यांक छ । यो तथ्यांकलाई हेर्दा जति सन्तोषजनक रुपमा माछा उत्पादन हुनुपर्ने हो त्यति उत्पादन नभएको कृषकहरुले बताएका छन । सरकारी तथ्याकं अनुसार जिल्लामा १ हजार २ सय ७६ दशमलव ७ मेट्रिकटन माछा उत्पादन हुदै आएको छ । यँहाका किसानहरुले माछालाई व्यवसायिक रुपमा लिएपनि सरकारी अनुदानमा रहेको विभेद र कमिसनका कारण आफूहरुलाई समस्या भएको गुनासो गरेका छन् ।








