५ पौष, अजित झा इनरुवा। सुनसरीको बर्जु गाउपालिका ५ अमाहीबेलाहामा रहेको इस्टर्न सुगर मिल यसै हप्ताबाट सञ्चालनमा आउने भएको छ । विगतमा नगदे बाली भनिए पनि उधारोमा बिक्रि गर्नुपर्ने बाध्यतामा रहेका किसानहरुलाई यसपाली भने १ महिना अघि नै गत बर्षको उखुको भुक्तानी दिएकाले यसै साताबाट मिल सञ्चालनमा आउने भएको छ ।

सुनसरी, मोरंग, झापा र सप्तरी सम्मको उखु क्रसिगं गर्ने उद्योगले आफ्नो उत्पादन थाल्नका लागि यसै हप्तादेखि मिल सञ्चालनमा ल्याउन लागेको बताइएको छ । सुगर मिलमा आफ्नो क्रसिङको क्रम सुरु गरेपछि फागुन मसान्तसम्म क्रसिगं गर्ने काम गर्ने मिलका प्रबन्धक सुरेश प्रसाद मेहताले जानकारी दिनुभयो । इस्टर्न सुगर मिल २०५३ सालमा स्थापना भए यता पूर्व क्षेत्रमा उखु लगाउने क्रम समेत बढेकोमा केही वर्षयता घट्दो क्रममा रहेकाले त्यसलाई बढाउनका लागि फेरी मिल प्रशासनले कसरत थालेको छ । उखुको लागि मिल प्रशासन र यस क्षेत्रका किसानहरुले आफ्नो लगानी गरेको बताइएको छ ।

जिल्लामा नगदे बालीको तेलहन पछिको तेस्रो स्थानमा रहेको उखु बाली यस क्षेत्रका किसानहरुको आकर्षणको केन्द्र बनेको किसानहरुको भनाई रहेको छ । खास गरेर सुनसरीको इनरुवा दक्षिण र पश्चिम क्षेत्रका किसानहरुले उखु खेति लगाउदै आएको भएपनि समयमा भुक्तानी नपाइने र मूल्य उचित नपाइने कारणले शसंकित हुने गरेको समेत अवस्था रहेको छ । जिल्लामा उखु किसानले गत वर्ष ५ सय २५ रुपियाँ प्रति क्विन्टलका दरले भुक्तानी पाएका थिए भने यसपाली समेत सोही हाराहारीमा किसानले मूल्य पाउने मिल प्रशासनले जनाएको छ । इस्टर्न सुगर मिलले पुस १२ गते देखि पूर्जी वितरण र पुस १५ गते देखि क्रसिगं सुरु गर्ने जनाएको छ ।

किसानहरुले उखुको भुक्तानी समयमा नपाएकाले तीन वर्षयता ओरालो लागेको उखु खेति यसपालीबाट बढ्ने अनुमान गरिएको छ । जिल्लामा करिब ३ हजार ५ सय हेक्टर क्षेत्रफलमा उखु खेति हुदै आएको छ । यँहा प्रति हेक्टर ५५ दशमलव ८१ मेट्रिमटन उत्पादन भएको र कुल उत्पादन वार्षिक रुपमा १ लाख ८७ हजार ८ सय १२ मेट्रिकटन उत्पादन हुदै आएको उखु किसानहरुले बताएका छन । यँहा सिचाईको अभाव, हात्ती आतकं, उखु बालीमा लाग्ने गवारो, स्टेमरट, रुटरट, ग्रासहोपर जस्ता रोग किराले समेत उखु उत्पादन घट्दो क्रमम रहेको किसान तेजनारायण अर्गरियाले जानकारी दिनुभयो । इस्टर्न सुगर मिलको क्रसिगं क्षमता प्रति दिन ३० हजार क्विन्टल रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia