७ पौष, ध्रुव भट्टराई मोरंग । सुनसरी-मोरङ सिँचाइ आयोजना कर्मचारी भर्तीकेन्द्र बन्दै गएको छ। सुनसरी र मोरङको ६८ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउन निर्माण भएको उक्त आयोजनाले मुल लक्ष्यभन्दा बेग्लै शीर्षकमा बढी खर्च गरिरहनु परेको छ । वार्षिक ६ करोड ६० लाख रुपैयाँ ज्यालादारी कर्मचारीका लागि मात्र खर्च हुन्छ । उक्त व्ययभार पूँजीगत खर्चबाट बेहोर्ने गरिएको छ । जबकि, पुँजीगत खर्च भौतिक संरचनाको मर्मतसम्भार र नयाँ निर्माणमा खर्चिनुपर्ने हो ।

अहिले ४० हजार हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध छ । विस्तारका लागि आवश्यक थप संरचना निर्माण पनि हुन सकेको छैन ।सरकार परिवर्तनसँगै उक्त आयोजनामा नयाँ कर्मचारी नियुक्तिको शृंखला शुरु हुन्छ । दैनिक ज्यालादारी कर्मचारीको संख्या तीन सय आठ पुगिसकेको छ ।आयोजनामा स्थायी, अस्थायी, करार र दैनिक ज्यालादारी गरी कुल चार सय २० कर्मचारी छन् । तीमध्ये सबैभन्दा बढी दैनिक ज्यालाका छन् । दैनिक ज्यालामा २० वर्षभन्दा बढी समयदेखि कर्मचारी कार्यरत छन् ।

सुनसरी चतरास्थित मुख्य नहरमा ड्रेजर मेसिन चलाउने मास्टरदेखि हेल्पर, नहरको शाखामा पानी खोल्ने गेट अपरेटरका रुपमा दैनिक ज्यालामा कर्मचारी नियुक्ति गरिँदै आएको छ ।उनीहरुलाई नहर सञ्चालन जनशक्तिका रुपमा सिँचाइ विभाग र मन्त्रालयले नियुक्ति दिन्छन् । त्यस्ता कर्मचारीको काम मौसमी हुनुपर्ने हो । तर, बाह्रैमास तलब दिइने गरेको छ ।

वर्षायाममा दैनिक ज्यालादारी कर्मचारीलाई नहरको काममा खटाइने गर्छ ।‘एउटा कार्यक्रमका लागि अस्थायी कर्मचारी नियुक्ति गर्ने तर सधैंभरि राखिरहने प्रवृत्तिले आयोजनाको व्ययभार थपिँदै गएको छ,’ लेखा अधिकृत हेमन्तकुमार गौतम भन्छन् ।अनावश्यक कर्मचारीलाई भुक्तानी दिनुपर्दा आयोजनाको नियमित काम प्रभावित बन्दै आएको छ ।लेखा अधिकृत गौतमका अनुसार ८८ स्थायी, आयोजनाअन्तर्गतको चन्दा मोहन सिँचाइ आयोजनाका २४ र आयोजनाको काम गर्ने तीन सय आठ जना दैनिक ज्यालाका कर्मचारी छन् ।

‘नहर सञ्चालन शीर्षकका अत्यधिक कर्मचारीका कारण भौतिक संरचनाको मर्मतसम्भार गर्न सकिएको छैन, सबै पैसा कर्मचारीको तलबमा जान्छ,’ गौतम भन्छन् । र, त्यस्ता कर्मचारीलाई पुँजीगत खर्चबाट भुक्तानी दिइने गरेको छ ।०३५ देखि ०६० साल सम्ममा विश्व बैंक र नेपाल सरकारले तीन चरणमा गरी आयोजनाको नहर निर्माणमा १२ अर्ब ८७ करोड ८० लाख रुपैयाँ लगानी गरिसकेका छन् ।त्यसयता हरेक वर्ष मर्मतसम्भारका नाममा खर्च हुने करोडौं रुपैयाँको हिसाब नै छैन, जुन गत वर्ष ४० करोडभन्दा बढी थियो ।-अनलाइनखबरको सहयोगमा

तपाईको प्रतिक्रिया

trusted online casino malaysia