१० पौष, मोरङ। रानी–विराटनगर–इटहरी–धरान सडक योजना निर्माण सुरु भएको चार वर्ष भइसकेको छ । ४९ किलोमिटर लामो सो सडकमा यसबीचमा ३३ किलोमिटर सडक निर्माणका लागि विभिन्न १३ वटा ठेकेदार कम्पनीले काम गरिरहेका छन, बाँकी १६ किलोमिटर भने ठेक्का लाग्न सकेको छैन ।

२०७६ सालसम्ममा निर्माण सक्नुपर्ने ६ लेन (५० मिटर चौडाइ) को यस सडक यही गतिमा निर्माण भएमा तोकिएको समयमा पूरा नहुने पक्का छ। अझ त्यसमाथि सडक खण्डका विभिन्न क्षेत्रमा देखिएका समस्याले पनि सडक समयमा पूरा नहुने आशंकामा बल र्पुयाइरहेको छ । सुनसरीको दुहबीको बजार क्षेत्रमा सडक विस्तार, इटहरीदेखि खनारसम्मको टेंग्रा खोलाको व्यवस्थापन, विराटनगर बजार क्षेत्रमा ५० मिटर चौडा गर्न नसकिनुजस्ता जटिल समस्याले निर्माण प्रभावित भइरहेको छ ।


कतिपय स्थानमा द्रुतगतिमा काम भएको भनिए पनि समयसीमा भित्रै काम सकिनेमा स्वयं रानी विराटनगर इटहरी धरान योजना कार्यालय नै ढुक्क छैन। ‘३३ किलोमिटर ठेक्का लाग्नै ४ वर्षलाग्यो अब ७६ सम्ममा कसरी सकिएला र ?’ आयोजना प्रमुख विनोदकुमार मौवारले भने, ‘अबको १ वर्षमा चाहिँ सबै सडक ठेक्कामा लाग्छ ।’ ठेक्का लागेको ३३ किलोमिटरमध्ये विराटनगरको आयल निगमदेखि बरगाछीसम्मको ३ किलोमिटर सडकको निर्माण भने अन्तिम चरणमा पुगेको छ । कुल १० अर्ब रुपैयाँको यस आयोजनामा हालसम्म ४ अर्ब रुपैयाँको मात्र काम भएको छ। जटिल समस्या दुहबी बजारमा सडक ६ लेनको बनाउन ५० मिटर चौडा हुनुपर्छ ।


तर, दुहबी बजार क्षेत्रमा ५० मिटरबाट घटाएर यसअघि नै १७ मिटर कायम गरेको पाइएको छ। अन्य क्षेत्रमा सडक हडपेर बनेका घर भत्काउन सजिलै भयो तर दुहबीको घर भत्काउन पनि अधिग्रहण गर्नुपर्ने बाध्यता योजना कार्यालयलाई छ। ’पहिले २५–२५ मिटर चौडा रहेको सडक दुहबी बजार क्षेत्रमा भने ८.५र८.५ मिटर क्षेत्र कायम गरिएको रहेछ,’ मौवारले भने, ‘उक्त क्षेत्र ठेक्का लाग्न पनि सकेको छैन, अब मन्त्रिपरिषद्ले नै निर्णय गरेर अधिग्रहण गर्नु आवश्यक छ ।’ ३३ सालतिर ५० मिटर चौडा बनाउने तत्कालिन सरकारको निर्णयलाई ५१ र ५२ सालको सरकारले दुहबी बजार क्षेत्र र विराटनगरको बजार १ किलोमिटर क्षेत्रमा लागू नहुने निर्णय गरेको पाइएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia