११ पौष, जयकृष्ण यादव, इनरुवा । कुनै बेला सुनसरी सदरमुकाम इनरुवामा बास बस्नका लागि र रातिको खाना खानका लागि सोच्नै पर्ने बाध्यता रहेकोमा अहिले होटल खुल्ने क्रम बढेको छ । इनरुवामा सम्पन्न होटलको अभावका कारण स्थानीय तथा बाह्य संघ सस्थाका व्यक्तिहरु र राजनीतिक दलका नेताहरु विराटनगर वा इटहरीमा बाँस बस्नु हुन्थ्यो ।
तर यतिबेला होटल खुल्ने क्रम इनरुवामा बढेकाले यँहा बाँस बस्ने तथा खानका लागि अन्त जान पर्ने बाध्यताबाट मुक्ति पाएको सेवाग्राहीहरुले बताएका छन् । इनरुवामा १५ देखि २० जनासम्म व्यक्तिलाई होटलमा बास दिनका लागि १ दशक अघिसम्म हम्मे हम्मे पथ्र्याे तर अहिले आएर सयौ व्यक्तिलाई बास बसाउन र खाना खुवाउन सक्ने क्षमताको होटलहरु खुलिसकेको होटल सञ्चालकहरुले बताएका छन् ।
जिल्लाको सदरमुकाम भएर पनि मुस्किलले २ वटा होटलले सेवा दिदै आएकोमा अहिले दर्जनको संख्यामा होटलहरु सञ्चालनमा आएका छन् । सुरुमा नम्रता होटल र फुलबारी होटल मात्रै बाध्यात्मक अवस्थामा थियो भने अहिले आएर क्लासिक होटल, रोयल होटल, जमजम होटल, लालिगुरास होटल, मिनी हाइवे होटल लगायतका १ दर्जन बढी साना ठूला होटलहरु सञ्चालनमा रहेका छन् । यँहाका होटलहरुमा नेपाली तथा विदेशी पर्यटक र सेवाग्राहीहरु खान बस्नका लागि आउने गरेको सञ्चालकहरुले बताएका छन ।








