२५ पौष, मोरंग। कमिसन वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका ग्यास बिक्रेताहरूले आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् । आन्दोलनको स्वरुप परिवर्तन गर्दै सोमबारदेखि उनीहरू ग्यास उद्योगको मूलगेटमा धर्नामा बसेका छन् । वर्षौदेखि कमिसन बृद्धि नगरिएको भन्दै पुस १२ गते ग्यास बिक्रीमा रोक लगाएका उनीहरूले उद्योगको मूलगेटमा धर्ना सुरू गरेका हुन् ।
उनीहरूले सोमबार बूढीगंगा गाउँपालिकास्थित कोशी ग्यास उद्योग अगाडि धर्ना दिएका छन् । बिक्रेताहरूले बिहान ८ बजेदेखि ४ बजेसम्म उद्योगको आवागमन अवरुद्ध गर्दै धर्ना दिएका हुन् । पहिलो चरणमा दैनिक ८ घण्टाका दरले धर्नामा बसेको बताउँदै ग्यास बिक्रेताहरूले माग सम्बोधन नभए २४ घण्टै धर्नामा बस्ने चेतावनीसमेत दिएका छन् ।
वर्षौदेखि कमिसन वृद्धि नगरिएका कारण आफूहरू मर्कामा परेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको एलपी ग्यास बिक्रेता संघ मोरङका सचिव सरलराज पोख्रेलले बताए । लगानीको अनुपातमा कमिसन नदिइएकाले व्यवसायीहरू आन्दोलनमा उत्रिएको उनको भनाइ छ ।हाल सिलिण्डरमा धरौटी वापत २२ सय र ग्यास रिफिलमा १३ सय ३० रूपैयाँ लगानी गर्नु परिरहेको ग्यास व्यवसायीहरूले बताएका छन् । उनीहरूले एलपीजी रिफिलमा गरिएको लगानीमा ५ प्रतिशत कमिसनको माग गरिरहेका छन् ।
व्यवसायीहरूले सो वापत हाल ३२ रूपैयाँ कमिसन पाउँदै आएका छन् । तर भ्याट तिरेर २८ रूपैयाँ मात्र कमिसन पाउँदै आएको उनीहरूको भनाइ छ। धर्नाअघि बिक्रेताहरूले ग्यासको बिक्री–वितरण अवरुद्ध गर्दै आफ्नो पसलको चाबी मोरङ जिल्ला प्रशासन कार्यालयमा बुझाएका थिए । तर अत्यावश्यकीय उपभोग्य सामाग्रीको बिक्री–वितरण अवरुद्ध गर्न नपाइने प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि शनिबारबाट ग्यासको बिक्री सुचारू गरिएको बताइएको छ ।









