रौतहट / स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १४ पटक अनशन बसेका डा. गोविन्द केसी मधेसका शीतलहर प्रभावित बिरामीको उपचारका लागि रौतहट आइपुगेका छन् । चिकित्सकसहितको उनको टोलीले गढीमाई नगरपालिका २ समनपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ ।
शिविरको पहिलो दिन बिहीबार ३५ बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । डा. केसी आएको सूचना पाएपछि समनपुरका योगी साह सोनार पक्षाघातले थलिएकी ४५ वर्षीया पत्नी उर्मिलादेवी साहलाई ह्वीलचेयरमा लिएर आएका थिए । केसीले करिब १५ मिनेट समय लगाएर उर्मिलाको स्वास्थ्य परीक्षण गरेका थिए । जाडोले काम्दै गरेकी उर्मिलालाई उनले एक थान कम्बल पनि दिएका थिए
केसीको टोलीलाई प्राथमिक स्वास्थ्य केन्द्र समनपुरका प्रमुख तेजनारायण यादवसहितका स्वास्थ्यकर्मीले सघाएका थिए ।केसीले घरघरमा पुगेर वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो कपडा वितरण गरेका थिए । उनले गढीमाईको हरैया, टोकार, समनपुर, लक्ष्मीपुर र सुन्दरपुरका १ सय वृद्धवृद्धा एवं बालबालिकालाई न्यानो कपडा ज्याकेट, टोपी, कम्बल वितरण गरेका थिए ।आजको कान्तिपुरमा खबर छ ।









