काठमाडौँ, १४ वैशाख । चालू आर्थिक वर्ष २०७४/७५ मा आर्थिक वृद्धिदर ५ दशमलव ८९ प्रतिशत हुने अनुमान गरिएको छ। यसअघिको वृद्धिदर प्रक्षेपणलाई संशोधन गर्दै केन्द्रीय तथ्यांक विभागले वृद्धिदरको नयाँ आँकडा सार्वजनिक गरेको हो।
सरकारले यसअघि बजेट वक्तव्यमा ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको थियो । बजेटको मध्यावधि समीक्षाका क्रममा त्यसलाई घटाएर ६ प्रतिशतमा झारिएको थियो। विश्व बैंकले ४ दशमलव ९ प्रतिशत र एसियाली विकास बैंकले ४ दशमलव ६ प्रतिशतमा आर्थिक वृद्धिदर सीमित हुने प्रक्षेपण यसअघि नै सार्वजनिक गरिसकेका छन्।
तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले उपलब्ध स्रोतसाधनको विश्लेषणका आधारमा अर्थतन्त्र ५ दशमलव ८९ प्रतिशतले बढेर ३० खर्ब रुपैयाँ पुग्ने अनुमान सार्वजनिक गरे।
यस वर्ष कृषिको वृद्धिदर २ दशमलव ८२ प्रतिशत र गैरकृषिको वृद्धिदर ७ दशमलव १ प्रतिशतले बढेको छ। अब अर्थतन्त्रको कारण ३० खर्ब ७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। धान र दलहन बालीको उत्पादन तथा विद्युत् र पानीजन्य क्षेत्र कम हुँदा आर्थिक वृद्धिमा असर गरेको विभागले जनाएको छ।
तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले नेपालको अर्थतन्त्र सकारात्मक दिशातर्फ गएको देखाएको छ। तर, करिब एक महिनाअघि अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक गरेको श्वेतपत्र यसको ठीक विपरीत थियो।
तथ्यांक विभागको प्रक्षेपणअनुसार चालू आर्थिक वर्षमा आधारभूत मूल्यमा २६ खर्ब ९३ करोड तथा चालू मूल्यअनुसार उपभोक्ताको मूल्यमा ३० खर्ब ७ अर्ब २४ करोड ६० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ। तथ्यांकले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको योगदान सबैभन्दा बढी उत्पादनमूलक क्षेत्रमा बढ्ने देखाएको छ। यसको मुख्य कारण अपेक्षाभन्दा १६७ मेगावाट बढी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको देखिएको छ। त्यस्तै, निर्माण क्षेत्रले गति लिएको पर्यटन क्षेत्रमा राम्रो सुधार देखिएको लगायतका तथ्यांक विभागले राखेको छ।
विभागका निर्देशक विष्णुमोहन भट्टराईले विभागले १५ वटा विषयमा तथ्यगत विश्लेषण गरेको बताए। उनका अनुसार जीडीपीमा सबैभन्दा बढी प्रभाव पर्ने कृषिको योगदान गत वर्षको तुलनामा २ दशमलव ७२ प्रतिशतले मात्रै वृद्धि भई २७ दशमलव १० प्रतिशतको योगदान रहने देखिएको छ।
त्यस्तै, मत्स्यपालन गत वर्षको तुलनामा ७ दशमलव ४२ प्रतिशतले वृद्धि भई शून्य दशमलव ४९ प्रतिशतको योगदान पुग्ने देखिएको छ। खानी तथा उत्खनन क्षेत्रको उत्पादन गत वर्षको तुलनामा १० दशमलव ४६ अंकले वृद्धि भई जीडीपीमा शून्य दशमलव ६२ प्रतिशतको योगदान रहने अनुमान गरिएको छ।
उद्योग क्षेत्रमा ८ दशमलव ४ प्रतिशको वृद्धिदर कायम हुने अनुमान गरिएको छ भने विद्युत्, ग्याँस तथा खानेपानी क्षेत्रमा ५ दशमलव ८२, निर्माण क्षेत्रमा ७ दशमलव ६० थोक तथा खुद्रा व्यापारको योगदान १३ दशमलव २६ प्रतिशत रहने अनुमान गरिएको छ। होटल तथा रेस्टुरा क्षेत्रको उत्पादन गत वर्षको तुलनामा ९९ दशमलव ७७ प्रतिशतले वृद्धि भई जीडीपीमा २ दशमलव ५ प्रतिशतको योगदान रहने अनुमान गरिएको छ।
यातायात तथा सञ्चार क्षेत्रको ७ दशमलव ९७, वित्तीय मध्यस्थता ६ दशमलव ३३ रियलस्टेट तथा व्यावसायिक सेवा ११ दशमलव ३७ प्रतिशत रहने अनुमान गरिएको छ। सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको योगदान २ दशमलव ८८, शिक्षाको ७ दशमलव १७, स्वास्थ्यको १ दशमलव ६८ र अन्यको योगदान ४ दशमलव ९० प्रतिशत रहने अनुमान गरिएको छ।
विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा नेपालको वृद्धिदर दक्षिण एसियाली क्षेत्रमा पाकिस्तानभन्दा बढी भए पनि अन्य देशको तुलनामा कम हुने देखिएको छ। पाकिस्तानले चालू आर्थिक वर्षमा ५ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धि प्रक्षेपण गरेको छ। पाकिस्तानबाहेकका राष्ट्रले भने नेपालको भन्दा बढी आर्थिक वृद्धि गर्ने प्रक्षेपण गरेका छन्। आजको राजधानी दैनिकले खबर छापेको छ।








