पोखरा, ३१ बैशाख । पुस्तौंदेखि सार्वजनिक प्रयोजनमा रहेको जंगल चार दशकअघि नै व्यक्तिले दर्ता गरेको खुलेको छ।सुरुमा दर्ता गरेका व्यक्तिले स्थानीयलाई बिक्री गरेको र पछिल्लो समय जंगल फँडानी हुन थालेपछि रहस्य बाहिर आएको हो।
पोखरा लेखनाथ-३३ स्थित चिलाउने चौतारा सालघारी बेतखोला जंगलको करिब ६८ रोपनी जंगल व्यक्तिले दर्ता गरेका छन्। पुर्खौंदेखि सार्वजनिक सन्धिसर्पनका रुपमा प्रयोग हुँदै आएको उक्त जंगलबाट स्थानीयले वस्तुभाउलाई घासपात र दाउरा जुटाउँदै आएका थिए। जंगलको बीचमा रहेको खानेपानीको मुहान अहिले पनि सबैले प्रयोग गरिरहेका छन्।
तनहुँको खैरेनीटारस्थित तत्कालीन कृषि केन्द्रमा काम गर्ने कुमार मालीकी श्रीमती उमादेवी र साबिकको कास्की शिशुवाका नगेन्द्रमणि भण्डारीका नाममा उक्त जंगल दर्ता भएको स्थानीयले बताए। जंगल व्यावसायिक प्रयोजनका लागि फँडानी गर्न लागिएपछि उनीहरुले खोज्दै जाँदा पहिल्यै व्यक्तिका नाममा दर्ता गरिएको थाहा पाएका हुन।
माली र भण्डारीले २०७२ मा उक्त जंगल स्थानीय बेलबहादुर कार्की र साना यज्ञप्रसाद अधिकारीलाई बिक्री गरेको पाइएको छ। स्थानीय बासिन्दा जंगल फर्काउन चैनपुर पशुपतिघाट वन संरक्षण समिति गठन गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले जग्गा दर्ता बदरको मागसहित कास्की जिल्ला अदालतमा मुद्दा हालेका छन्।
वन क्षेत्रलाई बगैचा भनेर माली र भण्डारीले आसपासको सिलसिला नै नमिल्ने कित्ता नम्बर राखी अर्कै जग्गाको तिरो भिडाई २०३३ असार ३२ मा दर्ता गरेको मालपोत र नापी कार्यालयको अभिलेखमा समितिका संयोजक मदनप्रसाद अधिकारीले बताए।
उनका अनुसार सबै स्रेस्ता भिडाउँदा एकै दिन जग्गाको नापी, कित्ताकाट, तोक आदेश र दर्ता भई पुर्जासमेत लिइएको छ। त्यति बेला उक्त ठाउँ स्याङ्जा जिल्लाअन्तर्गत पथ्र्यो। २०३४ बैशाख १ देखि कास्कीमा गाभिएको हो।
साविक भोटेपोखरी-९ (हालको पोखरा लेखनाथ-३३) सिनं. ०९४-११६४ को कित्ता नम्बर २२०२ र ११०३ को झन्डै ६८ रोपनी जग्गा दर्ता गरिएको हो । झुट्टा आधार, प्रमाणले जग्गाको तिरो र चार किल्ला नै नभिड्ने गरी ‘चोरी दर्ता’ भएकाले दर्ता खारेज हुनुपर्ने स्थानीयको भनाई छ। उनीहरुका अनुसार जंगलको ठीक बीच भागमा कित्ताकाट गरी जग्गा दर्ता गरिएको छ। उमादेवीको ठेगाना शिशुवा १ र मालेपाटन ५ लेखिएको छ।
पछिल्लो समय जग्गा किनेका कार्की र अधिकारी अर्गानिक रिसोर्ट खोल्ने योजनासाथ रुख काट्न आवश्यक प्रक्रियाका लािग ईलाका वन कार्यालय कुँडहर पुगेका थिए। सरकारी वनसंग जोडिएको क्षेत्र भएकाले आवश्यक नापजाँचका लागि ईलाकाले नापी कार्यालयलाई पत्राचार गरेको थियो।
नाप्ने क्रममा जग्गा जंगलको बिचमा देखिएपछि जिज्ञासा उठेको हो। ‘त्यसपछि विवाद भएकाले हामीले उक्त जंगलका रुख नकाट्न भनेका हौ,’ ईलाका वन प्रमुख राधाकृष्ण दासले भने, ‘गाउँलेले पनि विरोध जनाएका छन्।’ उपभोक्ताले केही समय अघि पत्रकार सम्मेलनमार्फत घटना सार्वजनिक गरेका थिए।
नापी भएको जंगल आसपासको जग्गाको कित्ता नम्बर नरहेको र वरपर कति जंगल छ भन्नेसमेत यकिन नभएको स्थानीय प्रमोध अधिकारीले बताए ।आजको कान्तिपुर दैनिकले खबर छापेको छ।








