काठमाडौँ, १४ जेठ । नेपाल घुम्न आउने पर्यटकको नेपाल बसाइ अवधि घटेको छ। पछिल्लो तीन वर्षको तथ्यांकमा भन्दा सन् २०१७ मा बसाइ अवधि घटेको हो।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१७ मा एक पर्यटक जम्मा १२.६ दिन नेपाल बसेर फर्केका छन्।
सन् २०१७ मा अहिलेसम्मकै बढी ९ लाख ४० हजार २ सय १८ पर्यटक नेपाल भित्रिएका थिए। तर, बसाइ अवधि भने घटेको हो, जुन ३ वर्षयताकै कम हो। सन् २००९ मा पर्यटकको बसाइ अवधि ११.३२ दिन थियो।
सन् २०१६ मा पर्यटकको बसाइ अवधि १३.४ दिन रहेको थियो। उक्त वर्ष ७ लाख ५३ हजार २ पर्यटक नेपाल भ्रमणमा आएका थिए भने सन् २०१५ मा बसाइ अवधि १३.१६ दिन थियो।
भूकम्पका कारण पर्यटक आगमनमै गिरावट आएको उक्त वर्षसमेत बसाइ अवधि बढेकोमा यसवर्ष भने घटेको हो।उक्त वर्ष ५ लाख ३८ हजार ९ सय ७० पर्यटक नेपाल भ्रमणमा आएका थिए। सन् २०१४ मा १२.४४ दिन पर्यटक नेपाल बसेका थिए भने ७ लाख ९० हजार १ सय १८ पर्यटक नेपाल भ्रमणमा आएका थिए। कारोबार दैनिकबाट








