जनकपुर, २८ सोमवार । जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामपरीक्षण यादवलाई जनकपुरका युवाहरुले कालो मोसो दलेका छन्।जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले बिरामीको ज्यान गएको भन्दै युवाहरुले यादवलाई कालो मोसो दलेको बताइएको छ।
अस्पतालको सेवा सुधारका लागि नयाँ शक्ति नेपाल विद्यार्थी संगठन, तरुण दल, नेविसंघ, विद्यार्थी युनियन र स्थानीय युवाहरुको एक समूहले आइतबार डा यादवलाई ज्ञापन पत्र बुझाउन गएको थियो।
त्यहीबेला डा यादवले हप्काएपछि आक्रोशित बनेका युवाले कालो मोसो शरीरमा दलेका थिए। घटनापछि केही समय अस्पताल तनावग्रस्त भएको थियो। युवाहरुले अस्पताल प्रमुख विरुद्ध नारावाजी समेत गरेका छन। घटनापछि धनुषा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
दुई दिनअघि मात्र जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापरबाहीले एक सुत्केरीको ज्यान गएको थियो। सोही घटनालाई लिएर गत दुई दिनदेखि अस्पतालमा विवाद हुँदै आएको थियो। राजधानी दैनिकबाट









