इनरुवा। सुनसरीको बर्जु गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका बनेको छ । सुनसरीमा रहेका १२ वटा स्थानीय तहमा गाउँपालिकाको संख्या ६ वटा रहेको छ ।
वडा नम्वर ५ लाई पूर्ण खोपयुक्त वडा घोषणा सँगै सिङ्गो बर्जु गाउँपालिका जिल्लाकै गाउँपालिकाहरु मध्ये पहिलो खोप सुनिश्चितता भएको स्थानीय तह घोषित भएको हो । सुनसरीको बर्जु गाउँपालिकामा ६ वटा वडा रहेका छन् । जसमध्ये ५ वडा यसअघिनै पूर्ण खोप सुनिश्चित वडा घोषित गरिएका थिए ।
जिल्ला समन्वय समिति सुनसरी उपप्रमुख कृष्णकुमारी विश्वकर्मा र गाउँपालिका प्रमुख रघुनन्दन चौधरीले विशेष कार्यक्रमको आयोजनाकाबिच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसस सुनसरी उपप्रमुख विश्वकर्माले जिल्लाका स्थानीयतहहरु क्रमिक बिकासको चरणसँगै समृद्धिको बाटो तर्फ उन्मुख हुँदै गएको धारणा राख्नु भएको थियो ।
गाउँपालिका अध्यक्ष चौधरीले बर्जुलाई ५ वर्ष भित्र नमूना बनाउने उद्येश्य लिएको बताउनुभयो । सोही अनुरुपको कार्ययोजना अघि बढेको बताउने चौधरीले पूर्णखोप सुनिश्चितताले त्यसमा एक खुड्किलो थप्ने काम गरेको बताउनुभयो ।कार्यकारी अधिकृत रामचरित्र मेहताले योजना कार्यान्वयनलाई दीर्घगामी सोचकालागि प्रभावकारी तवरले सम्पादित गर्दै अघि बढेकाले गाउँपालिकाको बिकास निर्माणमा सबैको साथ र सहयोग मिल्दै आएको बताउनुभयो ।
बर्जु गाउँपालिकाको कुल जनसंख्या ३५ हजार ५ सय ७५ रहेको छ । जसमा ५ वर्ष मुनिको बालबालिकाको जनसंख्या ३ हजार ९ सय ६६ रहेको छ भने २ वर्ष मुनिका बालबालिका १ हजार ५ सय २४ र एक वर्ष मुनिको बालबालिकाको संख्या ६ सय ७ रहेको छ ।सबै बालबालिकामा बीसीजीदेखी दादुरा रुबेला सम्मको खोप लगाइसकिएको स्वास्थ्यचौकी अमाहीबेलाहाले जनाएको छ ।
स्वास्थ्य संयोजक दिनेश कुमार चौधरीका अनुसार अन्तिम पटक गाउँपालिकामा रहेका १ सय ७४ जना बालबालिकालाई आधारमानी गरिएको सर्वे पश्चात गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको हो ।जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सुनसरीका तीनवटा नगरपालिका र एक गाउँपालिका पूर्ण खोप सुनिश्चित क्षेत्र घोषित भएका छन् ।









