विराटनगर। पेट्रोलियम ढुवानी मजदुरहरूले मंगलबारदेखि पेट्रोलियमको ढुवानी अनिश्चित कालका लागि बन्दको आह्वान गरेका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था पेट्रालियम मजदुर संघ र तत्कालीन एमाले समर्थित स्वतन्त्र मजदुर संगठनको संयुक्त आह्वानमा ढुवानी बन्द गरिएको हो ।
दुवै संगठनको नयाँ मापदण्ड अनुसारको तलब, भत्ता वृद्धिका साथै टयांकरमा लकिङ सिस्टम लागू भएपछि देनिक भत्ता वृद्धि गरिनु पर्ने माग राख्दै ढुवानी बन्दको आह्वान गरेका हुन् ।नेपाल आयल निगमले टयांकरमा लकिङ सिस्टम लागू गरेपछि आन्दोलित भएका ढुवानी मजदुरहरू ढुवानी बन्द गर्ने निर्णयमा पुगेका हुन् ।
उनीहरूले आफ्नो सुविधा बढाउन पेट्रालियम ढुवानी व्यवसायी संघलाई पटक पटक ज्ञापनपत्र दिंदै आएका थिए । माग पूरा नभएपछि मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल आयल निगम विराटनगरका प्रमुख दिनेश यादवसँग सो विषयमा जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।
सो समस्या ढुवानी व्यवसायीसँग सम्बन्धित भएकाले उनीहरूले मिलाउनु पर्ने हो । तर ढुवानी व्यवसायीले समस्या मिलाउनतर्फ पहल नगर्दा मजदुरहरू ढुवानी बन्द गर्ने अवस्थामा पुगेका हुन् ।
पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौलासँग सम्पर्क गर्न खोज्दा उनीसँग पनि सम्पर्क हुन सकेन । सरकारले अत्यावश्यक वस्तु आपूर्तिमा अवरोध हुने कुनैपनि किसिमको कार्यक्रम गर्न रोक लगाएपनि पेट्रोलियम ढुवानी मजदुरले गरेको सो आह्वानको विरुद्धमा स्थानीय प्रशासनले कुनै कदम चालेको छैन ।








