
इनरुवा /क्यान्सर पीडित महिलालाई सहयोगी संस्था महेन्द्रनगर सुनसरी सेवा समाज कतारले नगद ५० हजार रकम सहयोग उपलब्ध गराएको छ ।आर्थिक अवस्था कमजोर रहेको उदयपुर जिल्लाको बेलका नगरपालिका अन्र्तगत ठोक्सिला वडा नम्वर ३ निवासी ५९ वर्षिया मनमाया खत्रीको परिवारलाई महेन्द्रनगर सुनसरी सेवा समाज कतारले उपचार खर्च सहयोगार्थ सो रकम हस्तान्तरण गरेको हो । भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा खत्रीलाई ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । रकम अभावमा उपचारमा कठिनाईको सामना गर्दै आएको पीडित परिवारलाई भेटेर संस्थाका नेपाल संयोजक खगेन्द्र गड्तौला सहितको टोलीले सहयोग रकम हस्तान्तरण गरेको हो ।

पीडित परिवारले सहयोगको आग्रह गरेकोमा महेन्द्रनगर सुनसरी सेवा समाज कतारका द्धितिय उपाध्यक्ष सन्तोष विष्ट र कार्यसमिति सदस्य किसन श्रेष्ठ पहलमा उपचार सहयोग उपलब्ध गराइएको प्रदिपकुमार राईले बताए ।वडा सदस्य डिल्ली पौडेलको रोहवरमा रकम हस्तान्तरण गरिएको थियो । नगद हस्तान्तरण कार्यक्रममा महेन्द्रनगर सुनसरी सेवा समाज कतारका विष्ट, श्रेष्ठ, अमर बानिया, खेमराज दाहाल र सुनसरी सिर्जनशील परिवार कतारका कोषाध्यक्ष उमेश पोखरेल लगायतको उपस्थिती रहेको थियो । संस्थाले सदस्य परिवार सहित विपन्न समूदायकासाथै पीडित परिवार र शैक्षिक क्षेत्र सुधार तथा पूर्वाधार जस्ता क्षेत्रमा आर्थिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ ।








