इनरुवा । थारु समुदाका महिलाहरुले आफ्नो घर परिवारको सुख शान्ति तथा समृद्धिका लागि मनाइने जितिया पर्वको अवसरमा जितिया महोत्सव २०७५ को आयोजना गर्ने भएको छ । रामधुनी न.पा. स्थित थारु कल्याणकारीणी सभाको सभा हलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संस्कृतिको जर्गेना गर्न तथा थारु महिलाहरु एकजुट भएर आगामी असोज १६ गते जतिया महोत्सव गर्ने सभाकी अध्यक्ष राजोदेवी चौधरीले बताउनुभयो ।
थारु कल्याणकारिणी सभा सुनसरीको सहयोग तथा थारु महिला सभा सुनसरीको आयोजनामा हुने जतिया महोत्सवमा सुनसरी भरी छरिएर रहेका थारु महिलाहरु रामधुनी नगरपालिकामा भेला भई आफ्नो भेषभुषा, जातिय पहिचान झल्कीने झाँकी, ¥याली निकाली महोत्सवमा सहभागी हुने जनाइएको छ । महोत्सवमा थारु अग्रजहरुले राखेका कुराहरुले समग्र थारुहरुको पहिचान तथा संरक्षण र विकासका लागि टेवा पुग्ने थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष सुरेन्द्र चौधरीले जानकारी गराएका थिए ।
उक्त महोत्सवमा प्रमुख अतिथिको रुपमा कृषि राज्यमन्त्री रामकुमारी चौधरीलाई ल्याउने तयारी भई रहेको छ भने महोत्सवमा ७ लाख रुपैयाँ सम्म खर्च हुने अनुमान गरिएको छ । सोही पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघ रामधुनीका नगर अध्यक्ष राजकुमार चौधरी थारु कल्याणकारीणि सभाका पूर्व सचिव मनोज चौधरी लगायतले जतिया पर्व थारु महिलाहरुले किन, कसरी र कसका लागि ब्रत बस्ने गर्छन भनी प्रष्ट पारेका थिए ।









