
इनरुवा/नव गठित अस्पताल व्यवस्थापन समिति इनरुवाले औपचारिक रुपमा काम थालेको छ । यसअघि नगर मातहतमा रहँदै आएको व्यवस्थापन समिति अब भने प्रदेश सरकार मातहतमा गएको छ । प्रदेश मार्फत गठित नयाँ समितीले इनरुवा अस्पतालमा सरसफाई गरी काम थालनी गरेको हो । अस्पताल व्यवस्थापन समिति अध्यक्ष गोपालराज भण्डारी सहित समितिका पदाधिकारी, सामूदायिक प्रहरी सेवा केन्द्र इनरुवाका साथै सुरक्षाकर्मी र अस्पतालका कर्मचारी सफाई कार्यक्रममा सहभागि भएका थिए ।

नव गठित व्यवस्थापन समितिमा जिसस सुनसरी सभापति भण्डारी अध्यक्ष, मे.सु. बिना शाक्य सचिव र उपमेयर जमुना गौतम पोखरेल सदस्य सहित ७ जना रहेका छन् । यसैबिच व्यवस्थापन समिति अध्यक्षले अस्पतालको विषय पटक पटक विवादित हुने र घटनाक्रम बाहिरिरहने विषय उपर समितिको ध्यानाकर्षण भएको बताउनुभएको छ ।

अस्पतालको हरहिसाब सहित आय व्ययको विवरण माग गरिएको बताउँदै सूक्ष्म रुपमा अध्ययन गरी पारदर्शी गराउने तर्फ लागेको भण्डारीले जानकारी दिनुभयो । इनरुवा नगरपालिका उपप्रमुख समेत रहनु भएकी समिति सदस्य जमुना गौतम पोखरेलले अस्पताललाई राजनीति गर्ने थलो बन्न नदिने भन्दै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा खेलबाड गर्ने उपर कार्वाहीको प्रकृया अघि बढाइने स्पष्ट पार्नु भएको छ ।








