मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङको दिनचर्या अलैंची बारीमै बित्छ । कालो सुनका रूपमा हेरिने अलैंची खेती थालेपछि भने उनी आर्थिक रूपले सम्पन्न मात्र छैनन्, रोजगारी दिलाउन सक्ने हैसियतमा पनि छन् ।मस्र्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले पनि मलेसियामा १० वर्ष श्रम बेचे । तर, आर्थिक हैसियत उकासिएन । अहिले ३५ रोपनी क्षेत्रफलमा लगाएको अलैंचीबाट उनी घरमै बसेर वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका बलराम लामा पनि अजय र सोमबहादुर जस्तै विदेशबाट फर्किएर अलैंची खेती थाल्ने अर्का सफल कृषक हुन् । उनले पनि वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी अलैंची खेतीबाटै गरिरहेका छन् ।अजय तामाङ गाउँगाउँमा सुरु भएको अलैंची खेतीको लहरसँगै १० वर्षअघि परिवारसहित गाउँ फर्किए । एक रोपनी जग्गाबाट सुरु भएको अलैंची खेती अहिले ४० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलामा ५ रोपनी र ताराचोक शेरामा ५० रोपनी क्षेत्रफलमा नेपालकै ठूलो अलैंची नर्सरी स्थापना भएसँगै उनले अलैंची बिरुवा पनि बेच्न थाले । अलैंची बिरुवाबाट मात्र वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्ने गरेको उनको भनाइ छ । अलैंची दाना र बिरुवा बिक्री गरी उनले वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । भन्छन्, ‘विदेशमा वार्षिक ३ लाख जति कमाइ हुन्थ्यो । तर, अहिले परिवारको साथमा घरमा बसीबसी १५ लाख रुपैयाँ वार्षिक आम्दानी हुन्छ ।’अलैंची खेतीले भाग्य बदलिएको उनी सुनाउँछन् । उनी विगत ३ वर्षदेखि नेपाल अलैंची व्यवसायी महासंघ लमजुङ शाखाका अध्यक्ष हुन् । अचेल उनी रोजगारीका लागि गाउँ छाड्ने र विदेशमा रहेका युवालाई गाउँ फर्किएर अलैंची खेती गर्न आग्रह गर्दै हिँड्छन् ।

अलैंची टिप्दै स्थानीय कृषक तथा नेपाल अलैंची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङ ।अर्का अलैंची कृषक सोमबहादुरले २१ वर्षअघि सुरुमा एक रोपनी जग्गाबाट अलैंची खेती सुरु गरे । उनको अहिले ३५ रोपनी क्षेत्रफलमा अलैंची खेती छ ।अलैंची नर्सरी तथा जडीबुटी नर्सरी फार्ममा उत्पादन गरेको अलैंचीको बिरुवा बिक्री गरी वार्षिक तीन लाखसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ ।जिल्लामा ४० वर्षअघिबाट अलैंची खेती विस्तार भए पनि बल्ल अलैंची खेतीतर्फ स्थानीयको आकर्षण बढेको छ । अलैंची खेतीले स्थानीयको आर्थिक हैसियत मात्र होइन, भाग्य नै बदलिदिएको नेपाल अलैंची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङ बताउँछन् ।

गाउँ छाडेका युवा स्थानीयको अलैंची आम्दानी देखेर यतिबेला गाउँ फर्किएर अलैंची खेती गर्न थालेका छन् । परम्परागत खेतीभन्दा अलैंची खेतीबाट धेरै आम्दानी हुने भएकाले अलैंची खेतीतर्फ स्थानीय आकर्षित भएको स्थानीय कृषक बताउँछन् ।‘गाउँमा ४२ घरधुरी थियो, बसाइँ सरेर जम्मा १२ घरधुरी मात्र रह्यो तर अलैंची खेतीको राम्रो आम्दानी देखेर गाउँ फर्किन थालेपछि २९ घर पुगेको छ,’ नेपाल अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष एवं स्थानीय कृषक तामाङले भने ।

रित्तिन लागेको लुदीगाउँ अलैंची खेतीले जुर्मुराएको छ । अहिले लुदीगाउँमा झण्डै तीन सय रोपनी क्षेत्रफलमा अलैंची खेती गरिएको छ ।
अलैंची खेती गरिएको ९ सय ५० हेक्टर क्षेत्रफलमध्ये ६ सय ५० हेक्टर क्षेत्रफलमा उत्पादन सुरु भएको छ । जिल्लामा गत वर्ष ७ सय २१ क्विन्टल अलैंची उत्पादन भएको थियो । यस वर्ष उत्पादन अझ बढ्ने नेपाल अलैंची व्यवसायी महासंघ लमजुङको अनुमान छ । समाचार राजधानी दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia