इनरुवा। सुनसरीको पूर्वपश्चिम राजमार्गमा विभिन्न बहानामा अवैध कर असुलीको कार्य भइरहेको गुनासो बाहिर आएको छ । जिल्ला समन्वय समितिका ठेकेदार भन्दै राजमार्गमा जिल्लाको भाण्टावारी, इटहरी, दुहबी सहितका क्षेत्रमा अवैध कर संकलन भइरहेको हो । स्थानीय स्वायत्त शासन ऐनअनुसार जिल्लामा उत्पादित बस्तुको अन्य जिल्ला निकासी हुँदा सम्बन्धित जिल्ला विकास समितिले कर लिन पाउने व्यवस्था छ । तर जिल्ला समन्वय समितिबाट अनुमति नै नलिई आरके कन्स्ट्रक्सनका ठेकेदारले दिनहुँ लाखौं गैरकानुनी रूपमा उठाउदै आएको छ ।
यो वर्ष हालसम्म जिल्ला समन्वय समिति सुनसरीले जिल्ला निकासी करको लागि ठेक्का लगाएको छैन । तर पछिल्लो ६ महिनायता आरके कन्स्ट्रक्सनका ठेकेदारले सुनसरीको भाण्टावारी,इटहरी,दुहबी र भेडेटार सहित राजमार्ग क्षेत्रमा अमान्त अर्थात १३ प्रतिशत भ्याट कर सहित एक दिनको ६१ हजार दिने समझदारीमा पैसा उठाउदै आएको थियो । तर पछिल्लो दुई महिनायता उक्त आरके कन्स्ट्रक्सनका ठेकेदारले जिल्ला समन्वय समितिलाई पैसा नबुझाएको स्रोतले जनाएको छ । श्रोतका अनुसार आरके कन्स्ट्रक्सनका ठेकेदारले जिल्ला समन्वय समिति सुनसरीलाई ६० लाख बढी रुपियाँ हालसम्म बुझाउन बाँकी छ । कुनै पनि कर संकलन गर्ने नाममा राजमार्गमा चल्ने सवारी साधनलाई कुनै किसिमबाट बाधा अवरोध उत्पन्न गराउन नहुने गृह मन्त्रालयले पटकपटक निर्देशन जारी गरेको छ ।
नियमलाई अटेर गर्दै जिससका ठेकेदार भन्दै अन्य जिल्लाबाट मालसामान ओर्सादासमेत जबरजस्ती कर उठाउने गरेका छन् । विभिन्न क्षेत्रबाट आएको मालवाहक लोड गरी ल्याएको ट्रकलाई रोकी भाण्टावारी, दुहबी, इटहरी क्षेत्रमा जबरजस्ती कर लिने गरेको व्यापारीहरूले गुनासो गरेका छन् । रकम दिन नमानेपछि राजमार्गमा ट्रक छेक्ने युवाहरूको समूहले गालीगलौज तथा हातपात समेत गर्ने गरेको व्यापारीको गुनासो छ । भाण्टावारी क्षेत्रमा रहेको ढाटबाट मालवाहक सवारी (ट्रक, टिपर, ट्याकंर, कन्टेनर) का चालकबाट ५ सय देखि ३ हजार रुपियाँसम्म करको नाममा गैरकानुनी रकम जर्बजस्ती उठाइरहेको भएपनि प्रशासनले कुनै कारबाही नगरेको चालकहरुले गुनासो गरेका छन् । जरीवाना वा भागेको भन्दै कतिपय सवारी चालकहरुबाट ५ हजार रुपियाँ र सो भन्दा बढी मनलाग्दी र जर्बजस्ती रकम असुली भइरहेको एक सवारी चालकले बताउनुभयो ।
यता जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपालराज भण्डारीले ठेकेदारले दुई महिनायता जिसससंग अनुमति नै नलिई राजमार्गमा अवैध असुली गरेको बारेमा ध्यानाकर्षण भएको बताउनुभयो । भण्डारीले ठेकेदारलाई बाँकी रकम तिर्नका लागि यो बीहिवार सम्मको म्याद दिएको बताउनुयभो । समयमै कर नबुझाउने र अटेरी गरे कार्वाही गरिने भण्डारीको भनाई छ ।








