- जयकृष्ण यादव

इनरुवा। धान, गहु र मकैं सहित कृषिका लागि उर्बर मानिने सुनसरीमा बसन्ते मकैतर्फ किसानको आकर्षण बढ्दै गएको छ । केही समय देखी डुवान समस्याका कारण बर्खे मकै खेती प्रभावित हुन थालेपछि बसन्ते मकै खेतीमा किसानको झुकाव बढेको कृषि ज्ञान केन्द्र कार्यालय सुनसरीले जनाएको छ ।
मकैं गहुको तुलनामा राम्रो फल्ने र आम्दानी समेत बढी हुने भएकाले मकैं तर्फ आक्रर्षण बढेको केन्द्रले जानकारी दिएको छ । केन्द्र कार्यालयका अनुसार बसन्ते मकैको खेती गर्ने किसानको सङ्ख्या वर्सेनि बढ्दै गएको छ । त्यसको ठीक विपरित बर्खे मकैको खेती घट्दै गएको छ ।

बर्खेभन्दा बसन्ते मकैको बढी उत्पादन हुने र खाली जग्गाको सदुपयोग पनि हुने भएकोले किसानको आकर्षण बसन्ते मकै खेती तर्फ बढेको हो । कृषि ज्ञान केन्द्रका अनुसार तीन वर्ष अगाडि थोरै क्षेत्रफलमा बसन्ते मकै खेती हुने यहाँ यो वर्ष एक हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा विस्तार गरिएको छ । बसन्ते मकै लगाउँदाका हुने फाइदाबारे कृषकले बुझ्दै गएपछि यसको बसन्ते मकै खेतीतर्फ आकर्षण बढ्न गएको बरिष्ठ कृषि विकास अधिकृत बौवालाल चौधरीले बताउनुभयो । गतवर्ष यहाँ बसन्ते मकै एक हजार ९० हेक्टरमा भएको थियो ।

बर्खे मकै लगाउँदा बर्खामा आउने बाढी, डुवानका कारण समस्या हुने भएकाले पछिल्लो केहि वर्ष यता बसन्ते मकै खेतीमा बढोत्तरी भएको चौधरीको भनाइ छ । ‘बर्खे मकै खेती बसन्तेको भन्दा बढी हेक्टरमा हुने गरे पनि विस्तारै घट्दै गएको देखिएको छ’, उहाँले थप्नुभयो–‘त्यसको ठिक विपरित बसन्तेको खेती बढ्दै गएको छ ।’

सुनसरीमा बसन्ते मकैको खेती सबैभन्दा बढी हरिनगर गाउँपालिका, देवानगञ्ज , गढी, कोशी, भोक्राहा नरसिंह, इनरुवा, रामधुनी र बराहक्षेत्र लगायतका क्षेत्रमा हुने गरेको कृषि ज्ञान केन्द्र कार्यालयको तथ्याङ्क छ । कृषि ज्ञान केन्द्र कार्यालयले मकै खेती गर्ने कृषकलाई बृहत मकै उत्पादन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ वितरण विगतमा भएको थियो भने यसपाली समेत स्थनाीय तहले अनुदान दिएको बताइएको छ ।

कृषकलाई विभिन्न मकै उत्पादनमूलक तालिम समेत प्रदान गरिरहेको केन्द्रले जनाएको छ । तालिम र अभिमुखिकरणले गर्दा बसन्ते मकैको खेती गर्न सजिलो भई किसानको आकर्षण बढ्दै गएको चौधरीले बताउनुभयो । सुनसरीमा किसानहरुले केहीवर्षदेखि आफै लगानी गरेर मकै खेतीका लागि लागिपेका छन् । इनरुवा ९ बबियाका किसान किसानहरूले ३-४ वर्षदेखि एउटै खेतमा हाइब्रिड मकै लगाउँदा कृषि मल बढी प्रयोग गर्नुपर्ने हो तर मकै खेतीको समयमा नै कृषि मलको अभाव पनि भएकाले किसानहरूले आवश्यकताअनुसार खेतमा हाल्न नसकेको चौधरीको भनाई छ ।

उहाँले किसानहरूले भनेअनुसार नै यसअघि प्रतिकठ्ठा १२ मनसम्म मकै फल्दै आएको थियो तर गत वर्ष सरदर यस्तै ८ मन फलेको सुनाउनुभयो । प्रदेश १ मा गत आर्थिक वर्षमा ४३ हजार हेक्टरमा २ लाख १५ हजार ८ सय मेट्रिक टन मकै उत्पादन भएको थियो भने यस वर्ष पछि क्षेत्रफल बढेकाले उत्पादन बढनेको चौधरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia