काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासलगायतको जग्गा कर्मचारी, नेताका आफन्त तथा भूमाफियाको नाममा जानुमा मन्त्रिपरिषद्को निर्णयभन्दा मालपोत कार्यालय शक्तिशाली बन्दाको परिणाम भएको पाइएको छ । यस प्रकरणले कर्मचारीले राजनीतिज्ञसमेतलाई कसरी आफ्नो जालमा पार्न सक्छन् भन्ने दरिलो प्रमाण फेला परेको छ । कर्मचारी र भूमाफियाको मिलेमतोमा सरकारी जग्गा नै व्यक्तिगत गराइएको सार्वजनिक भएपछि सरकारले पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले सार्वजनिक गरेको प्रतिवेदनले मन्त्रिपरिषद्को निर्णयसमेतलाई बेवास्ता गर्दै मालपोतले एकतर्फी निर्णय लिई यस विषयलाई गुपचुप बनाउँदै भूमाफियाको रुचिअनुसार चलेको पुष्टि भएको छ ।

२०४७ : तीन महिनामा मन्त्रिपरिषद्मा तीन निर्णय
पहिलो जनआन्दोलनपश्चात् नेपाली कांग्रेस नेतृत्वमा बनेको सरकारले राजनीतिक कारणले २०१७ सालमा पञ्चायत सरकारले जफत गरेकोे नेता सुवर्ण शमशेर जबराकोे जग्गा फिर्ता गराउन तीन महिनाको बीचमा एकै विषयमा एकै आशयका तीन निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेका सबै निर्णयको आशय भने एकै थिए ।
सरकारले पहिलोपटक २०४७ साल १४ जेठमा यसबारे निर्णय लिएको थियो । सो निर्णयमा राजनीतिक कारणले सरकारले जफत गरेको सम्पति गृह मन्त्रालयबाट छानबिन गरी यकिन हुनुपर्ने र रोक्का भएको अवस्थामा फुकुवा गर्ने उल्लेख छ ।
सोही सालको ८ साउनमा सरकारले दोस्रो निर्णय गरेको छ । जसमा गृह मन्त्रालयबाट गहन अध्ययन गर्ने र छानबिनबाट फिर्ता गनुपर्ने देखिएमा प्रचलित कानुनअनुसार हदबन्दी हेरेर मात्र फिर्ता गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, तेस्रोपटक ३ भदौ २०४७ मा दोस्रो पटकको निर्णयमाथि हदबन्दीलाई स्पष्ट पार्न खोजिएको छ । मन्त्रिपरिषद्ले गरेको निर्णय एक निकायको निर्णयबाट मात्र कार्यान्वयन हुन सम्भव थिएन । निर्णय कार्यान्वयनमा गृह मन्त्रालय, भूमि सुधार मन्त्रालय र यस मातहतका भूमि सुधार कार्यालय, नापी कार्यालय र गुठीका सन्र्दभमा गुठी संस्थानको भूमिका महŒवपूर्ण हुन आउँछ । प्रक्रियागत रूपमा जाँदा गृह मन्त्रालयले फिर्ताबारे यकिन गरेपछि भूमि सुधार कार्यालयले हदबन्दीको टुंगो लगाउने र सोही निर्णयका आधारमा मात्र मालपोत कार्यालयको भूमिका सक्रिय हुनुपर्ने हुन्थ्यो । तर, मालपोतले यी सबै प्रक्रियाको बेवास्ता गर्दै एकतर्फी निर्णय गरेको पाइएको छ । मालपोत कार्यालयले तीनवटै निर्णयलाई विश्लेषण नगरी जफत र अधिग्रहण शब्दलाई गलत अर्थ लगाउँदै मन्त्रालयको छानबिन र हदबन्दीको विषयसमेत लत्याउँदै जग्गा फिर्ताको निर्णय लियो ।
–मन्त्रिपरिषद्को निर्णय मालपोतले टेरेन
–राजनितिज्ञमाथि कर्मचारी हावी
मालपोतको बदमासीको थप शृंखला
विभिन्न समयका सरकारले सरकारी प्रायोजनका लागि ६ राणाकालीन दरबार र दरबार क्षेत्रको १२ सय ९८ रोपनी जग्गा अधिग्रहण गरेको थियो । यसमध्ये २९९ रोपनी बालुवाटारको ललिता निवासभित्रको जग्गा पर्न गएको थियो । सोमध्ये २८४ रोपनी मुआब्जा दिई अधिग्रहण गरिएको र १४ रोपनी राजनीतिक कारणले जफत गरिएको सुवर्ण शमशेरको जग्गा रहेको थियो । यही १४ रोपनी फिर्ता गर्ने क्रममा सरकारले गरेको निर्णयलाई टेक्दै कर्मचारी र भूमाफियाको मिलेमतोमा गलत अर्थ लगााई मिसिल नम्बर १०२४ र १०२५ मार्फत निर्णय गरी विभिन्न व्यक्तिका नाममा ११४ रोपनी जग्गासमेत दर्ता गरिएको थियो ।
यसरी, पहिलोपटक दर्ता भएका व्यक्तिका नामबाट केही नेताका आफन्त, व्यापारी भूमाफिया र कर्मचारीको नाममा जग्गा किनबेच गरी कानुनी रूपमा आफ्नो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस प्रकरणमा नेता, व्यापारी भूमाफिया र कर्मचारीको मिलेमतोबाट नै यो मिसन पूरा हुन गएको पुष्टि हुन्छ । यस विषयलाई झन्डै ३० वर्षसम्म गुपचुप राखिएको छ । यसबीचमा बनेका २४ वटा सरकारले पनि यस विषयलाई पूर्णरूपमा बेवास्ता गरेको पाइएको छ ।
प्रतिवेदनले सरकारी सम्पत्ति दुरुपयोग भएको देखिन गएकाले २०४७ सालदेखिका मालपोत प्रमुख र संलग्न कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ । त्यस्तै, गुठी संस्थानका पदाधिकारीलाई कारबाही र संस्थानको विकल्प खोज्न सुझाव दिइएको छ । प्रतिवेदनमा यस क्रममा मालपोत कार्यालयले मिसिल बेपत्ता बनाएको, गुठी संस्थानले सहयोग नगरेको, गृह मन्त्रालयबाट छानबिन समिति गठन गरी लामो समयसम्म प्रक्रिया अघि नबढाएको देखाएको छ । यसबाट समेत मालपोतको निर्णयमा नेता, व्यापारी भूमाफिया र कर्मचारीको संलग्नता पुष्टि भएको प्रतिवेदनको ठहर छ । राजधानीबाट ।









