काठमाडौं । सरकारले उच्च आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य पूरा गर्न सडक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट बुधवार प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उच्च आर्थिक वृद्धि हासिल गर्न सघाउ पुग्नेगरी सडक निर्माणमा उल्लेख्य बजेट विनियोजन गरिएको बताए ।
सडक, रेल तथा जल यातायातको पूर्वाधार विकासका लागि रू. १ खर्ब ६३ अर्ब ५२ करोड विनियोजन गरिएको छ । सरकारले सडक यातायात सञ्जाललाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय आवद्धता तथा क्षेत्रीय सन्तुलनको मुख्य आधार बनाउने पनि घोषणा गरेको छ । हरेक प्रदेशमा कम्तीमा दुई राष्ट्रिय राजमार्ग पुग्नेगरी सडक निर्माण गर्ने कार्यक्रम सरकारको छ । यो कार्यक्रममार्पmत दुई छिमेकी मुलुकसँगको व्यापार सहजीकरण, लगानी प्रवद्र्धन र पर्यटन विकासमा टेवा पुग्ने सरकारी अपेक्षा छ ।
नागढुंगा–नौबिसे र सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माण गर्न बजेट विनियोजन गरिएको छ ।
त्यसबाहेक अन्य ५ स्थानमा सुरूङमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने सरकारको योजना छ । टोखा–छहरे–गुर्जेभञ्ज्याङ, खुर्कोट–चियाबारी, बीपीनगर–खुटिया–दीपायल, गणेशमान मार्गको थानकोट–चित्लाङ खण्ड र लामाबगर–उत्तरी सीमा सडकमा सुरुङमार्गको डीपीआर आगामी आवमा तयार पार्ने सरकारको योजना छ । यस्तै, सरकारले आगामी वर्षदेखि निर्माण गर्ने सबै सडक कम्तीमा दुई लेनको हुने व्यवस्था बजेटमा छ । आर्थिक अभियान दैनिकबाट ।








