इनरुवा । सुनसरीको दक्षिणवर्ती क्षेत्रका केही किसानहरु जैविक तरकारी खेतीतर्फ आकर्षित बनेका छन् । एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) तरिकाले खेती गर्दा फाइदा हुने भएपछि किसानहरु यसतर्फ आकर्षित भएका छन् । किसानहरुको सोचअनुसार आम्दानी पनि बढ्ने, मानवीय स्वास्थ्यमा असर नपर्ने र माटोको उर्वराशक्तिको पनि विकास हुने भएकाले आइपिएम तरिकाले खेती गर्न थालिएको कृषी ज्ञान केन्द्र सुनसरीका बागबानी विकास अधिकृत तिरपीत नारायण मिश्राले जानकारी दिए । “विगतमा किसानहरुले तरकारी बालीमा विषादी धेरै प्रयोग गर्ने गर्थे, अहिले छाडियो”–उनले भने, “यो सीप सिकेपछि जैविक प्रणाली र आइपिएम प्रविधिबाट तरकारी लगाउन थालेका छन् ।”
भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. २ का चन्दन मेहताले गाउँमा सात महिना लगाएर आइपिएम तरिका र किसानको परम्परागत तरिकाले खेती गरी परीक्षण गरिएको थियो । सो परीक्षणमा निक्कै अन्तर पाइएपछि भोक्राहा नरसिंह, देवानगञ्ज र हरीनगर गाउँपालिकाका किसानले आइपिएम विधि अपनाउन थालेका हुन् । स्थानीयले अहिले नयाँ विधिबाट खेती गर्ने तरिका सिकेकाले आम्दानीसमेत बढेको पाइएको कृषी ज्ञान केन्द्र सुनसरीका बागबानी विकास अधिकृत मिश्राले बताए । अहिले परम्परागत तरिका छाडेर नयाँ तरिकाले तरकारी खेती लगाउन किसान आकर्षित भएको अधिकृत मिश्राको भनाइ छ । विषादी कम छर्ने, सत्रुजीव र मित्रु जीव छुट्याउने र जैविक विषादी र प्राङ्गरिक मल हालेर तरकारी खेती लगाउँदा माटो राम्रो हुने र तरकारी उत्पादनमा पनि प्रभावकारी देखिएपछि उनीहरु यस्तो प्रविधि प्रयोग गर्न थालेका हुन् । विगतमा तरकारी खेती गर्दा तरकारीलाई चाहिने मित्रु जीवसमेत मर्नाले बाली उत्पादनमा असर पर्ने गरेको थियो । तर यो आइपीएम प्रविधिबाट तरकारी खेती गर्दा निकै राम्रो र मित्रु जीवका कारण तरकारी बालीसमेत राम्रो हुने अधिकृत मिश्राले जानकारी दिए । अहिले त्यसै खेर जाने गन्धेझार, गाईको दूध, गहुँत, घ्यूकुमारी, निम, सयपत्री, मेथीको पात, लसुन, खरानी, सुर्ती, असुरो, मेवाको पात, गोलभेँडाको पात, वनमारा, बकाइनो, बेसारको पात, तितेपाती, खिर्रो, अदुवालगायत उनका लागि अत्यन्त उपयोगी भएका छन् । यसैबाट किसान आफैँ जैविक विषादी बनाएर लाही र कीरा भगाउँछन् । खनजोत गरेपछि मसिनो माटो बनाउने, खरानी माटो, बालुवा माटो मिसाएर मलिलो माटोले छोप्ने । बिउ राखेर बोराले छोप्ने गर्दा बिउ राम्रो हुने भोक्राहा नरसिंहका किसान चन्दन मेहता बताउँछन् ।









