काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भारतमा मजदुरी गरी भारु लिएर आउने नेपालीलाई सटहीमा पर्न सक्ने समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले गृह मन्त्रालयलाई सम्बन्धित अर्थ मन्त्रालयसँग समन्वय गरेर सक्दो छिटो समस्याको समाधान निकाल्न भनेको हो । दसैं, तिहार, छठलगायत पर्वमा नेपालीहरू भारु लिएर फर्कने गरेका छन् । भारतमा पछिल्लो समय २००, ५०० र २००० का नोट प्रचलनमा छन्। तर नेपालमा भारु १ सयका नोट मात्र चल्छन्। २ सय, ५ सय र २ हजारका भारु नोट नेपालमा चल्दैनन्। तर यस विषयमा भारतस्थित नेपाली कामदारलाई पर्याप्त जानकारी नहुन सक्छ। ती नोटबारे नेपालले आफ्नो प्रयोगका लागि भारतीय सरकारसमक्ष अनुमति मागे पनि हालसम्म स्वीकृति पाएको छैन।

डिमनिटाइजेसन गर्नुअघि भारतले नेपालमा ५०० र १००० का भारतीय नोट प्रयोग गर्न स्वीकृत दिएको थियो। तर डिमनिटाइजेसनका क्रममा नेपालमा जम्मा भएको करिब ५ करोड बराबर भारु भारतले सटही नगरिदिएका कारण नेपाल राष्ट्र बैंठकमै थन्किएको छ। बैठकमा गृहसचिव प्रेमकुमार राईले चाडपर्वमा भारतीय नोटको नेपालमा प्रयोग गर्न समस्या हुनेबारे जानकारी दिएका थिए। ‘धेरै नेपाली भारतमा काम गर्न गएका छन्। उनीहरू चाडपर्व मनाउन नेपाल फर्कन्छन्। भारतमा काम गर्ने भएकाले उनीहरू भारतीय नोटहरू नै लिई फर्किन्छन्,’ उनले भने, ‘भारतले जारी गरेका नयाँ नोटको नेपालमा प्रयोगबारे नेपाल सरकारले केही भनेको छैन। भारतीय स्वीकृतिबिना उक्त नोट नेपालमा प्रयोग गर्नु गैरकानुनी हुनेछ। नयाँ नोट लिएर आएका नेपालीहरूलाई नाकामा हाम्रो सरकारको कानुनअनुसार सुरक्षाकर्मीहरूले दुःख दिन्छन्। किनकि गैरकानुनी नोट नेपाल भित्र्याउन मिल्दैन।’

यस विषयमा अर्थ मन्त्रालयसँग पटकपटक धारणा मागे पनि कुनै जवाफ नआएको उनले बताए। समितिलाई समस्या समाधानका लागि पहल गरिदिन उनको आग्रह छ। अर्थ मन्त्रालयको दोधारे नीतिबाट जनताले दुःख पाउने कामलाई तत्काल रोक्नुपर्ने समितिकी सभापति शशी श्रेष्ठले बताइन्। कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले पनि भारतीय नोट सटहीलाई लिएर नेपाली जनताले दुःख पाउन नहुनेमा जोड दिए। बैठकमा गृहमन्त्री रामबहादुर थापाले नोट सटहीका विषयमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर समस्या समाधान गर्न पहल गर्ने समितिलाई आश्वासन दिए। जनतामा पर्न सक्ने समस्यालाई दृष्टिगत गरी सीमाक्षेत्रमा बैंक र सुरक्षाको व्यवस्था मिलाउनुपर्ने नेकपाका सांसद महेश्वरजंग गहतराजको भनाइ छ।बैंठकको सुरुवातमा गृहमन्त्री थापाले सरकारले चाडपर्वलाई लक्ष्य गरी तयार पारेको विशेष शान्ति सुरक्षा कार्ययोजना कार्यान्वयनबारे जानकारी दिएका थिए। गृहको कार्ययोजना राम्रो भए पनि यसका कार्यान्वयन चुनौतीपूर्ण रहेको सांसदहरूले बताएका थिए।

चाडपर्वमा सीमा क्षेत्रलगायत स्थानमा हुने लुटपाटका घटना हुन नदिन आवश्यक व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ। सम्भावित आपराधिक गतिविधिका सम्बन्धमा पनि आवश्यक पूर्वतयारी गरी समयमै सजगता अपनाई शान्ति सुव्यवस्था कायम गर्न पनि निर्देशन दिएको छ। समितिले चाडपर्वका बेला लामो दूरीका सवारीसाधनहरूलाई सहज एवं व्यवस्थित रूपमा सञ्चालन गर्न, सवारी भाडा दरलाई सरकारी मापदण्डअनुरूप मात्र लिने व्यवस्था गर्न र दुर्घटना न्यूनीकरण गर्न सरकारलाई भनेको छ। उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिएपछि चोरीका घटना बढ्ने गरेका कारण त्यसको नियन्त्रण गर्न विशेष सुरक्षा व्यवस्था कायम गर्न पनि समितिको सरकारलाई निर्देशन छ। समितिले अत्यधिक उपयोग हुने दैनिक उपयोग्य सामग्रीको पर्याप्त आपूर्ति गर्न र कालोबजारी नियन्त्रण गरी आम नागरिकले सहज र सुरक्षित रूपमा चाडपर्व मनाउने वातावरण तयार गर्न आवश्यक समन्वयात्मक व्यवस्था मिलाउन पनि भनेको छ। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia