काठमाडौं । कोरोना भाइरसको संक्रमण जति फैलिएको छ, त्यससँगै यसबारे त्रास र भ्रम पनि फैलिएका छन् । स्मरणीय कुरा के छ भने, विश्वभर एक लाख भन्दा धेरै संक्रमित हुँदा ३५ सय को मृत्यु भएको हो ।

६५ हजार जति बिरामी त उपचारपछि घर फर्किसकेका पनि छन् । अर्थात् कोरोना संक्रमण लाग्नासाथ मृत्यु हुने चाहिँ होइन । कोरोना भाइरसका भ्रम र तथ्यबारे विश्व स्वास्थ्य संगठनले हालै महत्वपूर्ण सुझाव सार्वजनिक गरेको छ :

चिसो मौसम र हिउँले कोरोना भाइरस मार्न सक्दैन

चिसो मौसमले कोरोना भाइरस तथा यस्ता रोग मार्नसक्छ भन्ने कुरामा कुनै सत्यता छैन । कोरोनाबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय भनेको निरन्तर सफा पानी र साबुन पानीले हात धुनु हो । अल्कोहलयुक्त पानीले हात धुन पनि सकिन्छ ।

तातोपानीले नुहाउँदैमा कोरोनाबाट बच्न सकिँदैन

तातो पानीले नुहाउँदा पनि कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने मान्यता छ । जुन सत्य हैन । तातो पानीले नुहाउँदा वा ननुहाउँदा सामान्यतः मानव शरीरको तापक्रम ३६.५ डिग्री देखि ३७ डिग्रीसम्म हुन्छ ।

तातो वा चिसो पानीले नुहाउँदैमा कोरोना भाइरसबाट जोगिन सकिँदैन । बरु अत्याधिक तातो पानीले नुहाउँदा शरीर पोल्न चाहिँ सक्छ । कोरोनाबाट बच्ने सबैभन्दा राम्रो उपाय नै नियमित हात धुनु नै हो ।

चीनमा उत्पादिन सामग्रीबाट कोरोना सर्दैन

कोरोना भाइरस चीनबाट फैलिएको हुँदा यहाँ उत्पादन भएका सामानबाट पनि कोरोना फैलिनसक्छ भन्ने भ्रम पनि छ । जुन असम्भव कुरा हो । कोरोना भाइरस कुनै पनि सामानको सतहमा केही घण्टा वा केही दिनसम्म रहन सक्छ । त्यो भने सामानको प्रकृतिमा भर पर्छ ।

तर सामान कुनै ठाउँबाट अर्को ठाउँमा सार्दा कोरोना भाइरस उही सतहमा बसिरहन असम्भव हुन्छ । फरक तापक्रममा जाने वित्तिकै यसको अस्तित्व रहँदैन । बरु यस्ता सामान छोएपछि साबुन पानी वा अल्कोहलयुक्त पानीले हात धुनु चाहिँ पर्छ ।

लामखुट्टेको टोकाइबाट पनि सर्दैन

लामखुट्टेको टोकाइबाट कोरोना सर्छ भन्ने त्रासमा हुनुहुन्छ भने पनि त्यो भ्रम हटाउनूस् । अहिलेसम्म कोही पनि लामखुट्टेको टोकाइबाट संक्रमित भएको प्रमाण भेटिएको छैन । यो त संक्रमित मानिसको स्वासप्रस्वासको क्रममा वा हाच्छ्युँ गर्दा खकार वा थुकको छिटाबाट सर्नसक्छ । त्यसैले रुघाखोकी लागेका वा संक्रमणको आशंका भएका मानिससँग टाँसिनु वा नजिकिनु हुँदैन ।

ह्यान्ड ड्रायरले पनि भाइरस मार्दैन

ह्यान्ड ड्रायरले पनि कोरोना भाइरस नष्ट गर्न सकिँदैन । यसले हातलाई सुख्खा बनाउने मात्रै हो । कोरोना भाइरस मार्न त साबुन पानी वा अल्कोहलयुक्त पानीले नियमित हात धुनु नै पर्छ । साथै सेनिटाइजरको प्रयोग गर्न सकिन्छ ।

यूभी ल्याम्पले पनि कोरोना मार्दैन

अल्ट्राभायलेट डिसइन्फेक्सन ल्याम्प हात वा अन्य छालामा प्रयोग गर्नु हुँदैन । यसका विकिरणले त उल्टै छालामा समस्या निम्त्याउन सक्छन् ।

थर्मल स्क्यानरले संक्रमित पत्ता लगाउँछ त ?

थर्मल स्क्यानरले कोरोना संक्रमित पत्ता नलगाए पनि ज्वरो आएको मानिस चाहिँ पहिचान गर्छ । ज्वरो पनि कोरोना संक्रमितको एक लक्षण हो । तर कोरोना लागेका मानिसमा संक्रमणले छोएको दुईदेखि १० दिनसम्म ज्वरो देखिन्छ । थर्मल स्क्यानरको सहायताबाट ज्वरो पत्ता लगाउन सकिने हुँदा स्वास्थ्य परीक्षण वा निगरानीमा राख्न सकिन्छ ।

शरीरमा अल्कोहल वा क्लोरिन छर्कँदा कोरोना नष्ट गर्न सकिन्छ त ?

हैन । शरीरभरी अल्कोहल वा क्लोरिन छर्कँदा शरीरमा प्रवेश गरिसकेका भाइरस मार्न सकिँदैन । बरु मुख वा आँखामा पर्दा हानिकारक हुन्छ ।

घरपालुवा जनावरले कोरोना फैलाउँछन् त ?

हालसम्म कुकुर, बिरालो जस्ता घरपालुवा जनावरमा कोरोना संक्रमण भेटिएको छैन । तर यस्ता जनावरलाई छुँदा हात धोएर र छोएसकेपछि पनि हात धुनु वुद्धिमानी हुनेछ ।

न्युमोनियाविरुद्धको खोपले कोरोनाबाट बचाउँछ त ?

हैन । न्युमोनिया विरुद्ध लगाइने खोपहरुले पनि कोरोना भाइरसबाट बचाउन सक्दैनन् । कोरोना भाइरस एकदम नयाँ र भिन्न हो । यसबाट बच्न यसको आफ्नै खोप आवस्यक पर्छ । जुन विकास भइसकेको छैन ।

नियमित नाक पखाल्दा कोरोना संक्रमणबाट बचिन्छ त ?

यस्तो पनि हैन । नियमित नाक पखाल्दा वा धुँदैमा कोरोना संक्रमणबाट बच्ने कुनै प्रमाण भेटिएको छैन । बरु औषधिको सहायतामा नाक नियमित सफा गर्दा रुघाबाट बच्न सकिन्छ ।

लसुन सेवनले कोरोनाबाट जोगाउँछ त ?

सामान्यतः लसुन स्वस्थ्यकर खाना नै हो । यसमा जीवाणु मार्ने गुण हुन्छ । तर कोरोना भाइरस मारेको कुनै प्रमाण भेटिएको छैन ।

यसले वृद्धवृद्धालाई बढी असर गर्छ वा युवाहरु पनि संवेदनशील छन् ?

सबै उमेर समुहका मानिस यसबाट संक्रमित हुन सक्छन् । तर वृद्धावस्थाका मानिस, डायबिटिज, मुटुरोग जस्ता स्वास्थ्य समस्याबाट ग्रसित मानिस यसबाट जोखिममा पर्छन् । विश्व स्वास्थ्य संगठनले सबै उमेरका मानिसलाई कोरोनाबाट जोगिन सचेत गराएको छ ।

एन्टिबायोटिकले कोरोनाबाट जोगाउने र उपचार गर्नसक्छ त ?

एन्टिबायोटिकले कोरोना भाइरस विरद्ध केही गर्न सक्दैन । यसले त ब्याक्टेरिया नियन्त्रण गर्ने मात्रै हो । तर कोरोना संक्रमणबाट अस्पताल भर्ना हुने अवस्था आउँदा चाहिँ यसको पनि प्रयोग गरिन्छ ।

कोरोना भाइरसबाट बच्ने वा उपचारको औषधि छ त ?

हालसम्म कुनै खास औषधि भेटिएको छैन । कोरोना संक्रमितहरु विशेष निगरानीमा बसेर उपयुक्त उपचार लिनुपर्छ । यद्यपि विज्ञहरु यसको खोप वा औषधि विकासका लागि केन्द्रित भएका छन् । विश्व स्वास्थ्य संगठनले यसका लागि काम गरिरहेको छ । (विश्‍व स्वास्थ्य संगठनको वेभसाइटबाट) अन्नपूर्णबाट ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia