काठमाडौं । कोरोना भाइरसको नेपालमा हुने सम्भावित संक्रमणविरुद्ध सरकार र निजी क्षेत्रबीच सहकार्य हुने भएको छ । त्यसका लागि नेपालमा नै औषधि लगायतका वस्तु उत्पादन गर्ने, अत्यावश्यक वस्तुको कालोबजारी रोक्‍ने र विदेशबाट आयात हुने वस्तुलाई सहज रूपमा ल्याउन पहल गर्ने सरकारी तयारी छ । कोरोना नेपाल भित्रिएर ठूलो जनसंख्या त्यसबाट प्रभावित भएमा औषधिजन्य र अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति कसरी गर्ने र रोकथामका लागि विभिन्‍न निकायसँग कसरी सहकार्य गर्नेभन्‍नेबारे सरकारले पूर्वतयारी थालेको हो।निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउने, बजारको आपूर्ति व्यवस्था, कुन वस्तुको मौज्दात कस्तो छ ?खाद्यान्‍न, औषधि र पेट्रोलियम पदार्थको मौज्दातबारे सरकारले निजी क्षेत्रसँग छलफल गरेकोसरकार प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

कुन वस्तुको मौज्दात कति ?
छलफलमा सहभागी निजी क्षेत्रका प्रतिनिधिले आफू मातहतका व्यवसायीसँग कुन वस्तुको भण्डारण कति छ र उत्पादनको अवस्था के छ भन्ने तथ्यांक प्रस्तुत गरेका थिए।

निजी क्षेत्रका प्रतिनिधिले दिएको तथ्यांक उल्लेख गर्दै अर्थ, सूचना तथा संचार प्रविधिमन्त्रीसमेत रहेका खतिवडाले भने, ‘औषधि व्यवसायीहरूले ५ महिनासम्मका लागि पुग्‍ने स्टक छ भन्‍नुभएको छ। खाद्यान्‍न ६ महिना र पेट्रोलियम पदार्थ ३ महिनाका लागि पुग्‍नेगरी स्टक रहेको कुरा उहाँहरूले जानकारी गराउनुभएको छ।’

कोरोनाको त्रासले औषधि, खाद्यान्न र ग्यास लगायतका अत्यावश्यक वस्तुको अभाव देखाइएको तथा कालाबजारी भइरहेको भन्ने विषयमा छलफलका क्रममा उठेको थियो। बैठकमा नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले भनेका थिए, ‘औषधि अभाव हुने भ्रम फैलाइएको छ, कालोबजारी हुँदैछ। अनावश्यक रूपमा बढी औषधि खरिद गरेको पाइएको छ। हामीसँग ४/५ महिनाका लागि औषधि स्टक छ।’

त्यस्तै, ग्यास सिलिन्डर र खाद्य वस्तुको खरिदबिक्री अश्वाभाविक रूपमा बढेको भन्‍ने विषय पनि छलफलमा उठेको एक सहभागीले बताए। बैठकले उपभोक्तालाई कुनै पनि कुराको अभाव नहुने भएकाले नआत्तिन आग्रह गर्ने निष्कर्ष निकालेको खतिवडाले बताए। ‘ग्यासका सिलिन्डर घरभरी जम्मा नगरौं। त्यो जम्मा गरेर जोखिम नबढाउँ। अहिले दक्षिणतर्फबाट आउने व्यापारमा कुनै अवरोध छैन,’ उनले भने, ‘कसैले पनि यी वस्तुहरू जम्मा गरेर राख्‍नुपर्ने अवस्था छैन। उपभोक्ताहरूलाई पनि सचेत गराउने र बिक्रेताहरूले पनि अत्यावश्यक वस्तु बिक्री गर्दा धेरै नकिन्न र स्टक रहेको जानकारी गराउन सम्झाउनेबारे छलफल भयो।’

बैठकमा निजी क्षेत्रका प्रतिनिधिले कालोबजारी र चर्को मूल्य लिनेविरुद्ध सरकारले कडा रवैया अपनाउनुपर्ने धारणा राखेका थिए। उपभोक्तामा त्रास फैलाएर चर्को मूल्यमा अत्यावश्यक सामग्री बेच्‍नेक्रम तत्काल रोक्नुपर्ने उनीहरूको भनाइ थियो। जवाफमा सरकारका तर्फबाट, ‘बजार अनुगमनमा सरकार सक्रिय हुन्छ। अश्वाभाविक रूपमा कृत्रिम अभाव सिर्जना गर्ने र अस्वभाविक मूल्य वसुल गर्नेलाई सामाजिक अपराधका रूपमा लिनुपर्ने हुनसक्छ,’ भन्ने प्रतिबद्धता गरिएको खतिवडाले जानकारी दिए।

मास्क र स्यानिटाइजरको अभाव नहुने
कोरोना भाइरसको सक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नबाट रोक्ने ‘मेडिकल मास्क’ र संक्रमण रोक्‍ने स्यानिटाइजरको बजारमा अभाव भएको छ। एउटै व्यक्तिले ठूलो परिमाणमा मास्क खरिद गरेको र व्यापारीहरूले लुकाएर राखेकाले मास्क अभाव भएको अवस्थामा सिंहदरबारमा भएको निजी क्षेत्र र उच्च स्तरिय समितिबीच भएको छलफलले मास्क उत्पादनलाई बढावा दिनेबारे परामर्श गरेको थियो।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले अबको दुई तीन दिनमा नै दैनिक १५ हजार मेडिकल मास्क बजारमा पठाउने गरी उत्पादन भइरहेहको बताए। चेम्बरले नै दैनिक १५ हजारका दरले मास्क उत्पादन गर्न थालेको जानकारि दिँदै उनले भने, ‘सुरुमा सबै होलसेल पसलहरूमा मास्क पुर्‍याउने त्यसपछि जिल्लाहरूमा र एयरपोर्टमा पुर्‍याउने लक्ष्य राखेका छौं। एयरपोर्टमा यात्रुहरूलाई एकएक प्रति सित्तैमा दिने प्रबन्ध पनि गर्न लागेका छौं। पाँच रुपैयाँदेखि नै मास्क उपलब्ध हुने व्यवस्था गर्दैछौं।’ त्यस्तै, स्यानेटाइजर र ज्वरो नाप्‍नेथर्मोमिटर गनको व्यवस्था पनि सुलभ रूपमा गरिन लागिएको श्रेष्ठले बताए।

मन्त्री खतिवडाले भने जोखिममा काम गर्ने र सामान्य रूपमा प्रयोग हुने मास्कको उत्पादनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा निजी क्षेत्रले मास्क उत्पादन गर्ने समझदारी भएको बताए। कोरोनाको जोखिम उच्च भएको उमेर समूहका (बृद्धाअवस्थाका व्यक्तिहरू) र अस्पताल लगायतका उच्च जोखिमका क्षेत्रमा काम गर्नेहरूका लागि उच्च गुणस्तरको मास्क नेपालमै उत्पादन गरिने र सहज रूपमा सबैलाई उपलब्ध गराइने उनको भनाइ थियो।

भारतले निर्यात रोक लगाएका औषधि ल्याउन पहल
कोरोना भित्रिएपछि भारतले १३ औषधि निर्यातमा रोक लगाएको छ। प्यारासिटामोल लगायतका १३ औषधिमा भारतले लगाएको रोक खुलाउन पहल भएको र त्यसले सकारात्मक संकेत गरेको छलफलका क्रममा जानकारी गराइएको थियो।

उद्योग तथा वाणिज्य र परराष्ट्र मन्त्रालयका अधिकारीले भारतले औषधि निर्यातमा लगाएको रोक खोल्नेबारे पहल भइरहेको जानकारी दिएका थिए। भारतको वाणिज्य सचिवले नेपालमा निर्यात गर्ने औषधि फुकुवा गर्ने आश्वासन दिएको दुवै मन्त्रालयका अधिकारीले जानकारी दिएका थिए।

यसबारेमा मन्त्री खतिवडाले भने, ‘भारतले केही औषधिको निकासीमा प्रतिबन्ध लगाएको सन्दर्भमा भारत सरकारसँग कुरा गरेर भन्सार बिन्दुमा आउने वस्तुहरू छुटाउने र कूटनीतिक तहमा वार्ता गरेर आवश्यक वस्तुहरू नेपाललाई अभाव हुने नदिनेगरी ल्याउन अनुरोध गर्ने भन्‍ने भयो।’

कोरोना भाइरस (कोभिड-१९) विरुद्ध सरकार र निजी क्षेत्रले सहकार्य गर्ने विषयमा छलफल भएको छ। उत्तरी छिमेकी चीनबाट सुरु भएर विश्वका १०० भन्दा बढी मुलुकमा फैलिइसकेको कोरोना नेपालमा प्रवेश गरेमा कसरी नियन्त्रण गर्ने र त्यस्तो अवस्थामा अत्यावश्यक उपभोग्य वस्तुको वितरण कसरी प्रभावकारी बनाउने भन्‍नेविषयमा सरकारले निजी क्षेत्रसँग परामर्श गरेको हो। सरकारलेउपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिगठन गरेको थियो। कान्तिपुरबाट ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia