काठमाडौं । सशस्त्र प्रहरी बलले खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने रिक्त पदमा आवेदन दिन चाहने इच्छुक व्यक्तिको सहजताका लागि यो पटकदेखि नयाँ व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअनुसार इच्छुक व्यक्तिले अबदेखि आफूलाई नजिक पर्ने सशस्त्र प्रहरीको कुनै पनि गुल्म, गण, तालिम, केन्द्र र बाहिनीमा आवेदन दिन सक्नेछन् ।यसअघि सशस्त्र प्रहरी बलले प्रधान कार्यालय र पाँचवटा बाहिनी कार्यालयबाट मात्र आवेदन लिने गथ्र्यो ।

सशस्त्र प्रहरी बल भर्ना तथा छनोट शाखाका प्रमुख डीएसपी दिग्विजय सुवेदीका अनुसार, अब हिमाली जिल्ला मनाङ, मुस्ताङ, मुगु, डोल्पा, रसुवा र हुम्लासहित सात, पहाडी जिल्ला ३० र तराईका २१ गरी ५८ जिल्लाबाट फाराम वितरण र संकलन गरिने छ ।

यो नयाँ व्यवस्थाले योग्यता पुगेका इच्छुक व्यक्तिले आफू बस्दै आएको ठाउँ नजिक रहेको तोकिएको सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सक्नेछन् । यसबाट उनीहरूको समय र आर्थिक भारसमेत बचत हुनेछ । साथै यो नयाँ व्यवस्थाले विगतको तुलनामा आवेदन दिनेको संख्या पनि बढ्न सक्ने सशस्त्र प्रहरी बल प्रधान कार्यालयको विश्वास छ ।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी सुरज श्रेष्ठका अनुसार भर्नामा सबैको पहुँच सुनिश्चित गर्न पनि नयाँ व्यवस्था गरिएको हो । उनका अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले विगतमा भोग्नुपरेका समस्यालाई मध्यनजर राख्दै नयाँ व्यवस्था गरिएको हो । प्रवक्ता श्रेष्ठले भने, ‘बढीभन्दा बढी आवेदन परोस् र प्रतिस्पर्धा पनि होस् भनेर नयाँ व्यवस्था गरिएको हो । नयाँ व्यवस्थाबाट इच्छुक व्यक्तले आफू नजिक रहेको तोकिएको सशस्त्र प्रहरी कार्यालयबाट फाराम लिएर बुझाउन सक्नेछन्, यसबाट उनीहरूको समय र आर्थिक भारमा समेत बचत हुनेछ ।’

सशस्त्र प्रहरी बलले गत २२ भदौमा एक हजार ९३६ जवानका लागि भर्ना आह्वान गरेकोमा १ हजार २१२ जना मात्रै अन्तिम नतिजामा उत्तीर्ण हुन सफल भएका थिए । यो नयाँ व्यवस्थाले आवेदन पनि बढी पर्ने र प्रतिस्पर्धा पनि चर्को हुने हुनाले यस्तो समस्या नआउने सशस्त्र मुख्यालयको विश्वास छ ।

नयाँ व्यवस्थामा सशस्त्रका स्थायी गण र गुल्मबाट फाराम संकलन गरिए पनि परीक्षा भने ती ठाउँबाट दिन पाइँदैन । परीक्षा भने सशस्त्र प्रहरी प्रधान कार्यालय, बाहिनी र तालिम शिक्षालयबाट लिने गरी व्यवस्था मिलाइएको छ ।

काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा, चितवन र मकवानपुरमा फाराम भरेका इच्छुक व्यक्तिले सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक काठमाडौंमा परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

यस्तै, सुनसरी, इलाम, झापा, मोरङ, उदयपुर, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, धनकुटा र खोटाङकाले नम्बर १ बराह बाहिनी पकली सुनसरीबाट, महोत्तरी, सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा र पर्साकाले नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिबास महोत्तरी र कास्की, तनहुँ, पर्वत, गोरखा, स्याङ्जा, मनाङ र मुस्ताङकाले नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट परीक्षा दिने गरी व्यवस्था मिलाइएको छ ।

सुर्खेत, जुम्ला, मुगु, डोल्पा, पश्चिम रुकुम र हुम्लामा फाराम भरेकाले नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतबाट, कैलाली, डोटी, कञ्चनपुर, अछाम, दार्चुला, बैतडी र डडेलधुराकाले नम्बर ७ वैद्यनाथ बाहिनी अत्तरिया कैलालीबाट परीक्षा दिन सक्नेछन् ।

यस्तै, कपिलवस्तु, पश्चिम नवलपरासी, रुपन्देही, दाङ, पूर्वी नवलपरासी, पाल्पा, अर्घाखाँची र गुल्मीकालाई सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट र बाँके र बर्दियाकालाई सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँकेमा परीक्षा लिने व्यवस्था मिलाइएको छ ।

सशस्त्र प्रहरी बलले अहिले ३ हजार २९७ जना सशस्त्र प्रहरी जवान पदका लागि आवेदन संकलन गरिरहेको छ । जसमा खुलातर्फ १ हजार ७७७, समावेशी महिलातर्फ २९७, समावेशी आदिवासी÷जनजातितर्फ ४७५, दलिततर्फ २२२ र पिछडिएका क्षेत्रतर्फ ७४, अमर, अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिबाट ३६ जनाको कोटा छुट्याइएको छ ।

सशस्त्र प्रहरीले खुलाबाट ५५ प्रतिशत र समावेशीबाट ४५ प्रतिशत हुने गरी भर्ना गर्ने गरेको छ । समावेशीतर्फ पनि ४५ प्रतिशतलाई ७ प्रतिशत मानिएको छ । जसमा महिलालाई २०, आदिवासी÷जनजाति ३२, मधेसी २८, दलित १५ र पिछडिएको क्षेत्रलाई ५ प्रतिशत छुट्याइएको छ । समावेशीमा आवेदन दिएकाले खुलातर्फ पनि आवेदन दिनसक्ने गरी व्यवस्था मिलाइएको छ ।

यसरी गरिन्छ भर्ना छनोट प्रक्रिया

सशस्त्र प्रहरी बलले भर्ना छनोट प्रक्रियालाई पारदर्शी र त्रुटिरहित बनाउन भरमग्दुर सचेतता अपनाउने गरेको पाइएको छ । सशस्त्रले सशस्त्र प्रहरी सेवा आयोगका अधिकृत प्रतिनिधिहरूको अनिवार्य उपस्थितिमा मात्र परीक्षा सञ्चालन गर्ने गरेको छ । भर्ना छनोटलाई निष्पक्ष बनाउने अभिप्रायले उनीहरूलाई अनुशिक्षण तालिमसमेत प्रदान गर्ने गरिएको छ । परीक्षा सञ्चालन गर्ने स्थानमा सीसी क्यामरा जडान गर्ने गरिएको छ भने परीक्षार्थीहरूको फारम संकलन गर्दा नै उनीहरूको ‘बायोमेट्रिक एटिन्डेन्स’ हाजिर गराएर मात्रै प्रवेश गराउने गरिएको छ ।

यस्तै, भर्ना छनोट कार्यमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरूलाई छुट्टै प्रवेश पासको व्यवस्था गर्ने गरिएको छ । भर्ना छनोट प्रक्रिया चलिरहँदा त्यहाँ अन्य सशस्त्र प्रहरी कर्मचारीलाई प्रवेश निषेध गर्ने गरिएको छ ।

साथै छनोटमा खटिने कर्मचारीहरूका लागि आचारसंहिता नै तयार गरिएको छ । छनोट अवधिभर उनीहरूले मोबाइलसमेत प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ । सशस्त्र प्रहरी सेवा आयोगका पदाधिकारीले छनोट परीक्षाका बखत निगरानी गर्ने व्यवस्था पनि गरिएको छ ।

आफ्नो नतिजाप्रति असन्तुष्टि जनाउने परीक्षार्थीहरूलाई सेवा आयोगका अधिकृत प्रतिनिधिबाट काउन्सिलिङको पनि व्यवस्था गरिएको छ । अनुत्तीर्ण हुने परीक्षार्थीलाई मन्जुरीनामा गराई जुन स्टलमा अनुत्तीर्ण भएको हो, सोही स्टलमा अनुत्तीर्ण गराई प्रवेशपत्र खिच्ने व्यवस्था गरिएको छ ।

परीक्षा समाप्त भएपश्चात् परीक्षा सञ्चालन भएकै स्थानमा ग्राउन्डमा नै नतिजा तथा खेस्रासमेत नतिजा प्रकाशनका लागि समितिसमक्ष खोल्ने गरी सिलबन्दी लाहाछाप गरी राख्ने गरिएको छ ।

भर्ना धमाधम

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले आफूले सशस्त्रको नेतृत्व सम्हालेपछि भर्ना छनोट प्रक्रियालाई तीव्रता दिँदै आएका छन् ।आईजीपी नियुक्त भएको तीन सातापछि २१ वैशाख २०७५ मा उनले पहिलोपटक २६ प्राविधिक सशस्त्र प्रहरी निरीक्षक ९चिकित्सक० र ४५ प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक ९विभिन्न ट्रेड० का लागि भर्ना प्रक्रिया थालेका थिए । उनीहरूको नियुक्ति सिफारिस नहुँदै ३० साउनमा पुनः १३ प्राविधिक सशस्त्र प्रहरी निरीक्षक ९चिकित्सक० र १० प्राविधिक सशस्त्र प्रहरी निरीक्षक ९इन्जिनियर० का लागि दरखास्त आह्वान गरिएको थियो ।

त्यसपछि २२ भदौमा १ हजार ९३६ जना सशस्त्र प्रहरी जवान, २२ भदौमै १०४ जना सशस्त्र प्रहरी परिचर, १९ असोजमा ४३ जना सशस्त्र प्रहरी निरीक्षक र १९ असोजमै २३९ सशस्त्र प्रहरी सहायक निरीक्षक पदका लागि दरखास्त आह्वान गरिएको थियो ।अहिले फेरि ३ हजार २९७ सशस्त्र प्रहरी जवान पदका लागि आवेदन संकलन भइरहेको छ ।

ठगदेखि होसियार रहन सुझाव

भर्नाका लागि आवेदन दिने व्यक्तिहरू ठगिन सक्ने भन्दै सशस्त्र प्रहरीले सम्बन्धित व्यक्तिलाई सावधानसमेत गराउँदै आएको छ । सशस्त्र प्रहरीद्वारा सर्वसाधारणका हितमा जारी सूचनामा भनिएको छ, ‘सेवा प्रवेश गराइदिने प्रलोभनमा पारी कसैले तपाईंलाई ठगी गर्न सक्छ, सशस्त्र प्रहरी बलमा प्रवेश गर्न न त कसैको सिफारिस चाहिन्छ, न त तोकिएको राजस्व दस्तुरबाहेक अन्य रकम नै तिर्नुपर्छ । त्यसैले होसियार रहनुहोस् । यदि कसैले यति रकम दिए भर्ना गराइदिन्छु भनी गलत आश्वासन दिन्छ र दिएको छ भने त्यो गलत हो । त्यसैले तुरुन्त सशस्त्र प्रहरी बल नेपालको टोल फ्री नम्बर १११४ वा नजिकको सशस्त्र प्रहरी बलका एकाइमा खबर गर्नुहोस् । तपाईंलाई ठग्न खोज्ने व्यक्ति कानुनी कारबाही भागीदार बन्नेछ । ढुक्क हुनुहोस्‘।।सुरक्षाको कारण तपाईंको नाम गोप्य राखिनेछ ।’ राजधानीबाट ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia