९ साउन, मोरंग। सुन्दरहरैचा ५ स्थित फोक्लान टापुमा पहिचान नखुलेको रोगको प्रकोप फैलिँदा २ जना बालबालिकाको ज्यान गएको छ भने दर्जनौ स्थानीय बिरामी परेका छन । स्थानीय दिलबहादुर राईका १४ बर्षीया छोरा विजय राई, र डिल्लीमान तामाङ्गकी ५ बर्षकी छोरी सुस्मिता तामाङ्गको सो रोगबाट ज्यान गइसकेको छ । राईको बिरामी भएको दुई दिनमै गत असार २९ गते मृत्यु भएको हो भने तामाङ्गको भने साउन ८ गते मृत्यु भएको हो । तामाङ्ग एक सातादेखि थला परेका थिए । गाँउमा असार शुरुदेखि नै एकै किसिमको लक्षण देखिने रोगबाट स्थानीय अनन्त तामाङ्गको परिवारमा ३ जना, रोशन राईको घरमा दुई जना, सञ्जय तामाङ्गको घरमा रहेका ६ जना, भरतमणी राईको परिवारमा एक जना टिकाराम राईको घरमा एक जना र कमल राईको घरमा दुई जना धनबहादुर तामाङ्गको घरमा एक जना र एभरेष्ट राईको घरमा एक जना बिरामी भएको स्थानीयले बताएका छन ।
एक साताअघि देखि फैलिएको रोगका कारण स्थानीय बासिन्दा बिरामी भएपनि सरोकारवाला निकायाले ध्यान नदिँदा अहिलेसम्म ३५ घर परिवारका १७ जना भन्दा बढि सिकिस्त बिरामी परेका छन् । बिरामी पर्नेहरु अधिकांश बालबालिका रहेका छन् । तामाङ्ग र राई समुदायको बसोबास रहेको सो गाँउ वुढी खोला र मुगु खोलाको बिचमा पर्छ । इटहरीबाट ८ किलोमिटर उत्तर पूर्व गएपछि सो गाँउमा पुगिन्छ । इटहरी हुँदै त्यहाँ पुग्नका लागि मोटरबाट जान सकिन्न । सुन्दरहरैचाको तीन पैनी बजारबाट समेत त्यहाँ पुग्न समस्या रहेको छ ।
बिरामीहरुलाई ज्वारो आउने, टाउको दुख्ने र रिँगाटा चल्ने लक्षण देखिने गरेको छ । गाँउमा सबै बिरामी पर्न थालेपछि सर्वसाधारण उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा गएका थिए । त्यहाँ पनि बिराम पहिचान नभएपछि सामान्य ज्वरो होला भनेर घर फिरेका थिए । अहिले रोगले महामारीको रुप लिएपछि जनस्वास्थ्य कार्यालयको टोली गाँउमै ल्याउने तयारी भइरहेको सुन्दरहरैचा वडा नम्बर ५का वडाअध्यक्ष राम रिजालले बताए । अहिले सो गाँउबाट दैनिक ५ जना भन्दा बढिलाई अस्पताल लैजानु परेको छ । हामीले अहिले अरु सबै काम छाडेका छौ, बिरामीलाई अस्पताल पुर्याउँदैमा दिन बित्ने गरेको छ स्थानीय दलजित सुब्बाले भने । गाँउमा ३ सय मानिसहरुको बसोबास रहेको छ ।








