१२ भाद्र, खोटाङ। दुई वर्ष भन्दा मुनिका शिशुले मासिक एक हजार रुपैया भत्ता पाउने भएको छन् । तर यो सुविधा खोटाङको दिप्रुङ गाउँपालिकामा मात्र उपलब्ध हुने छ । दिप्रुङ गाउँपालिकाले २ वर्ष भित्रका शिशुहरुलाई पोषण भत्ता स्वरुप सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रत्येक आमा बुवाबाट जन्मिने बढीमा दुई सन्तानका लागि प्रोत्साहन स्वरुप उक्त पोषण भत्ता प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाको अध्यक्ष भुपेन्द्र राईले बताए । तर भत्ता पाउनका लागि केही मापदण्ड भने पुरा गर्नुपर्ने उनी बताउँछन् । भत्ता प्राप्त गर्न गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने छ । बच्चा जन्मिएपछि बच्चालाई खुवाउनु पर्ने खोप लगाएको तथा भिटामिन खुवाएको हुनुपर्नेछ ।
हालै बसेको एक बिशेष बैठकले स्वास्थ्य स्वयम् सेविकालाई मासिक ५ सय दिने तथा ७० वर्ष माथिका वृद्धावृद्धलाई घरमै निशुल्क स्वास्थ्य चेकजाँचको ब्यवस्था गर्ने समेत निर्णय गरेको छ । त्यसै गरी गाउँपालिकाका विद्यालयहरुमा आफ्नो विषयमा सबैभन्दा राम्रो नतिजा दिलाउन सफल शिक्षकलाई पुरस्कृत गर्ने निर्णय समेत भएको जानकारी गराईएको छ ।








