१४ कात्तिक, इनरुवा । मंसिर २१ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी बारे मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जिल्लाका राजनैतिक दलसँग छलफल गरेको छ । चुनावी तयारी, शान्ति सुरक्षा र आचारसंहिताका बिषयमा मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जिल्लातहमा रहेका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिसँगको उपस्थितीमा छलफल गरेको हो ।

सर्वपक्षिय भेलामा निर्वाचन अधिकृतहरुले क्षेत्रगत रुपमा चुनावको तयारी लगायतका बारेमा अवगत गराएका थिए । मूख्य निर्वाचन अधिकृत पुरुषोत्तम प्रसाद ढकालले उम्मेद्वार मनोनयनका तयारी अन्तिम चरणमा पुगेकाले दलहरुलाई कात्तिक १६ गतेका दिन आयोगले निर्धारण गरेको समयसीमा भित्र रहेर संयमित,मर्यादित र अनुशासित रुपमा मनोनयन दर्ता गर्न आग्रह गरे ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले गएको स्थानीय तह निर्वाचनमा दलहरुले पूर्ण रुपमा आचार संहिता पालना नगरेको भन्ने व्यापक गुनासो पाइएकाले आउँदो निर्वाचनमा आचारसंहिता उल्लंघनको विषयलाई जिल्लातहमा कडाईका साथ कार्यान्वयनमा ल्याइने बताए । कार्यक्रममा सहभागि दलका प्रमुख तथा प्रतिनिधिहरुले आचार संहिताको पूर्ण रुपमा पालना गर्ने बताउँदै निर्धारित समयमा आपसी समन्वय कायम गरी मनोनयन दर्ता गराउने प्रतिवद्धता जनाएका छन् ।








