२ मंसिर, अमर काफ्ले इनरुवा। सुनसरीमा एमाले प्रवेश गर्नेको लर्को लागेको छ । विभिन्न पार्टी त्यागी नेता तथा कार्यकर्ताहरु राति अवेर सम्म बसेर एमालेमा प्रवेश गरिरहेका छन् । एकसातायता एमालेका जिल्ला तहका सबैजसो नेता जिल्लाको दक्षिण भेगमा केन्द्रित छन् । सुनसरीको क्षेत्र नम्वर २ मा पर्ने क्षेत्रमा एमालले कार्यकर्ता प्रवेशको क्रमलाई प्राथमिकतामा राखेर चुनावी अभियानलाई अघि बढाइरहेको छ । एमाले नेता खेमराज पोखरलेले रात्रीकालिन चुनावी कार्यक्रम आयोजना गरेरै भएपनि विपक्षी नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराइरहेको बताउनुभयो ।
दिनभर चुनावी दौडाहासँगै सभा र पार्टी प्रवेश जस्ता कार्यक्रममा भ्याइनभ्याईको अवस्था आएपछि सर्वसाधारण मतदाताहरुको आग्रहमा रातीको समयमा समेत कार्यक्रम आयोजना गरी पार्टी प्रवेशको क्रमलाई निरन्तरता दिइएको पोखरेलले बताउनुभयो । एमाले नेता पोष्ट नेपालले पछिल्लो सयम एमाले प्रवेश गर्नेहरुको लर्को लागेकाले चुनावी माहौल एमालेको पक्षमा रहेको स्पष्ट भएको बताए । मधेश केन्द्रित दलसँगै नेपाली कांग्रेस लगायतका दलहरुबाट एमालेमा प्रवेश गर्नेहरुको संख्या उल्लेख्य रहेको नेपालले बताउनुभयो । पार्टी प्रवेश तथा चुनावी प्रचार कार्यक्रमलाई बाम गठबन्धनका तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डम्मर सुवेदी , प्रदेशसभा ख का उम्मेदवार रामप्रसाद मेहता लगायतका नेताहरुले सम्बोधन गर्दै आएका छन् । कांग्रेस त्यागेर रामप्रसाद मेहता एमाले प्रवेश गरेसँगै उनको अगुवाईमा जिल्लाको दक्षिणी भेगमा अन्यपार्टी छाडेर एमालेमा प्रवेश गर्नेहरुको संख्यामा वृद्धि भएको छ ।








