१९ मंसिर, अमर काफ्ले इनरुवा। मंसिर २१ गते अर्थात पर्सी हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मौन अवधि लागु भैसकेकाले आचारसंहिताको पालना गर्न मूख्य निर्वाचन अधिकृतको कार्यालयले सुनसरीले उम्मेदवारहरुलाई आग्रह गरेको छ । मतदान केन्द्रको ३ सय मिटर आसपासका क्षेत्रमा रहेका चुनावी प्रचार सामाग्री नहटाइएको गुनासो आएकाले तत्कालै त्यस्ता सामाग्री हटाउन मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले सम्वन्धित दल तथा उम्मेदवारसामू आग्रह गरेको हो ।
इनरुवामा बसेको सर्वपक्षिय बैठकले मंसिर २१ को चुनाव, मत पेटिका संकलन तथा भण्डारण, गणनास्थल र दलिय प्रतिनिधि लगायतका विषयमा समेत अपनाइने प्रकृया बारेमा समेत निर्णय गरेको छ । बैठकले मत गणनाका लागि दलिय प्रतिनिधिका सवालमा भोली २ बजेसम्म आधिकारिक सिफारिस सहितको विवरण बुझाउनु पर्ने समय सीमा निर्धारण गरेको छ । मत गणना स्थलको शिलछाप लगायतका प्रकृयामा दलित प्रतिनीधिको उपस्थिती, भिड व्यवस्थापनकालागि सम्वन्धित दलको उम्मेदवार वा जिम्मेवारी पाएको प्रतिनिधिले तोकेको व्यक्तिलाई एजेण्टको जिम्मेवारी दिइने बारेमा समेत बैठकमा जानकारी गराइएको थियो । मूख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गरी मतगणना जारी रहुनजेल सम्मकालागि सबै संयन्त्रबिच आपसी समन्वय र सहकार्यको खाँचो औल्याउनुभयो।








