१४ पौष, सिरहा। नेपाललाई सन् २०१७ सम्ममा खुला दिसामुक्त गर्ने सरकारी लक्ष्य अनुसार सिरहा जिल्लालाई पनि खुला दिसामुक्त घोषणा गर्न विगत चार वर्ष देखि अभियान सञ्चालन गरिएको छ । सो अभियानपछि जिल्लाका ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिरहाका प्रमुख राजेश कुशवाहाले जानकारी दिनुभयो ।
प्रमुख कुशवाहाका अनुसार जिल्लाको कुल एक लाख १८ हजार ७६२ घरधुरीमध्ये हालसम्म एक लाख १२ हजार ६९५ घरधुरीमा शौचालय निर्माण भइसकेको छ । बाँकी रहेको पाँच प्रतिशत अर्थात छ हजार ६७ घरधुरीमा अबको एक साताभित्रै शौचालय निर्माण गराएर जिल्लालाई खुला दिसामुक्त घोषणा गरिने प्रमुख कुशवाहाले बताउनुभयो ।
हालसम्म सिरहाको १७ वटा स्थानीय तहमध्ये धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, कल्याणपुर नगरपालिका, बरियारपट्टी गाउँपालिका, लक्ष्मीपुर पत्तारी गाउँपालिका र औरही गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भइसकेको पनि प्रमुख कुशवाहाले जानकारी दिनुभयो । घोषणा हुन बाँकी रहेका सिरहा नगरपालिका, लहान नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, सखुवा नन्कारकट्टी गाउँपालिका, विष्णुपुर गाउँपालिका, नरहा गाउँपालिका, अर्नामा गाउँपालिका, नवराजपुर गाउँपालिका र भगवानपुर गाउँपालिकाको अधिकांश वडा खुल्ला दिसामुक्त घोषणा भइसकेको र घोषणा हुन बाँकी रहेको वडामा पनि शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।









