फिदिम । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत पाँचथर जिल्लातर्फका १६ साना स्तम्भ गायब भएका छन् । सीमा अवलोकनका क्रममा साना स्तम्भ गायब भएको पाँचथर प्रहरीले जनाएको छ । उत्तर पूर्वमा पर्ने याङवरक गाउँपालिका–१ र २, फालेलुङ गाउँपालिका–३, ४ र ७ अन्तर्गतका भारतको सिक्किम र पश्चिम बंगाल राज्यको सीमाका स्तम्भ हराएका हुन् । जिल्लाको ४४ दशमलव ३८ किलोमिटर सीमा क्षेत्रमा ११३ स्तम्भ छन् । जसमध्ये १०३ साना स्तम्भमा १६ वटा गायब भएको पाँचथर प्रहरी प्रमुख डीएसपी वामदेव गौतमले बताए ।

१६ दिनसम्म गरेको अध्ययनमा ८७ स्तम्भ मात्र फेला परेको उनले बताए । १२ वटा स्तम्भको निशाना नै पत्ता लागेको छैन भने चारवटाको स्थान मात्र पत्ता लागेको प्रहरी जवान चन्द्रबहादुर चौहानले बताए । अन्य नौवटा जंगे अर्थात ठूला र एउटा मझौला सीमा स्तम्भ भने फेला परेका छन् ।

फेला परेका सबै स्तम्भ मर्मत सम्भार गर्नुपर्ने अवस्थामा रहेको छ । दुर्गम स्थानका स्तम्भ सामान्य र राम्रै अवस्थामा छन् । सडक पुगेको, चौंरीगाईको चरन क्षेत्र र पर्यटकहरूको अवागमन बढी हुने स्थानका स्तम्भहरू हराउनुका साथै जीर्ण भएका छन् ।

सीमा क्षेत्रमा रहेको पर्यटकीय स्थल फालोट क्षेत्रमा अन्तरिक तथा बाह्य पर्यटकहरूको अवागमन बढी हुने गर्छ । कतिपय पर्यटकले स्तम्भमा चढ्ने, हल्लाउने गर्दा भत्किने, हराउने र जीर्ण हुने गरेको याङवरक गाउँपालिका–१, च्याङथापुका मंगलबहादुर बेघाले बताए । चर्ने क्रममा चौंरीगाईहरू रगटिने कारणले पनि स्तम्भ जीर्ण बन्ने गरेका छन् ।

अवलोकन टोलीमा रहेका प्रहरी जवान चौहाने भने, ‘जीर्ण अवस्थामा रहेका कतिपय स्तम्भहरूमा हामीले चौंरीगाई रगटिएको निशाना र चौंरीगाईको रौंहरू भेटेका थियौं ।’ सीमा स्तम्भको दसगजावरपर दुवै पक्षले कुनै संरचना निर्माण गर्न नपाइने सन्धिमा उल्लेख छ । तर, भारतीय पक्षबाट सीमा स्तम्भ नै धरापमा पर्नेगरी सडक निर्माण गरेका कारण सीमा स्तम्भ जोखिममा छन् ।

याङवरक गाउँपालिका–२ तिम्बुङ पोखरीदेखि फालेलुङ गाउँपालिका–७ सन्दकपुर आहाल छेउसम्मको पाँचथर जिल्लाअन्तर्गतको सीमा क्षेत्रमा ३५ नम्बरदेखि ५७÷२ नम्बरसम्मका सीमा स्तम्भ छन् ।

कार्यालयको आन्तरिक अभिलेखलाई चुस्त, दुरुस्त राख्न पाँचथर प्रहरीले सीमाको अध्ययन अवलोकन गरेको थियो । भारतीय पक्षबाट नियमित रूपमा सीमा क्षेत्रको अनुगमन भए पनि नेपाल पक्षबाट त्यति हुन सकेकाे छैन । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia