खोटाङ, १६ साउन । दोस्रो विश्वयुद्ध लडेर बहादुरी कमाउनु भएका रावाबेंसी गाउँपालिका–३ लामिडाँडाका योद्घा पत्थरमान राईको निधन भएपछि पूरै गाउँ शोकमा डुवेको छ ।गाउँकै अभिभावकका रुपमा चिनिएका योद्घा राईको ९५ वर्षको उमेरमा निधन भएपछि लामिडाँडामा शोक डुवेको हो । सोमबार मृत्यु वरण गर्नुभएका राईले विसं २००० सालमा दोस्रो विश्वयुद्ध लड्नुभएको थियो ।

अपच हुने समस्या भएपछि असार २५ गते उपचारका लागि काठमाडौं लगिएका राईको घर ल्याउनेक्रममा उदयपुरको घुर्मीमा निधन भएको थियो ।हप्ता दिन अस्पतालमा राखेपछि डिस्चार्ज गरिएका राईले घर फर्किने इच्छा देखाउनुभएपछि घर फर्काउने क्रममा बाटैमा निधन भएको आफन्त पदम थुलुङले बताउनुभयो ।

बाबु गजवसिं राई र आमा सरिमायाको कोखबाट विस. १९८० साल माघ २ गते जन्मिनुभएका राईको मंगलबार गाउँमा अन्तिम दाहसंस्कार गरिएको छ ।

दोस्रो विश्वयुद्ध चलिरहेकै बेला राति साथीहरुसँग भागेर गल्लावाल पछ्याउँदै १९ वर्षको उमेरमा विसं १९९९ सालमा भर्ती हुनुभएका राईले दोस्रो विश्वयुद्धमा जापानी सेनाविरुद्ध बहादुरीपूर्वक लड्नुभएको थियो ।

पल्टन नम्बर टेनजीआर १०९९९६ भएका राई घाइते अवस्थाका जापानी सेनाले प्रहार गरेको ग्रिनेटले लाग्दा गम्भीर घाइते हुनुभएको थियो । ग्रिनेटको छर्राले उहाँको शरीर छियाछिया बनेको थियो ।

ग्रिनेटले चिउँडो उडायो । देब्रे हातको चोर औंला चुँडियो, दायाँ हातको पाखुरामा छर्रा लाग्दा नशामा असर पुगेकाले सबै औंला बांगिएको थियो ।

घाइते भएपछि युद्ध मैदानबाट उपचारमा लगिएका राईको अस्पतालमै ४ वर्ष ६ महिना बितेको थियो । अस्पतालमा लगिएका राईको ग्रिनेटले चुँडाएको चिउँडोमा टाउकाको छाला काटेर दारी बनाइएको थियो । उहाँको १८ ठाउँमा शल्याक्रिया गरिएको आफन्तले जनाएका छन् ।

शरीरकै छाला काटेर उहाँको ओठका रुपमा टाँसिएको थियो भने नक्कली दाँत हालिएको आफन्त बताउँछन् । लडाइँमा छियाछिया भएको शरीर टालटुल गरिएको थियो ।

२००२ सालमा जापानले आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्ध टुंगिएको केही वर्षसम्म पत्थरमानले अस्पतालको बेडमै बिताउनुभएको थियो ।युद्धबाट फर्किएर विवाह गर्नुभएका राईको ६ छोरी र एक छोरा हुनुहुन्छ । नेपाल समाचारपत्र दैनिकबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia