काठमाडौं । घरघरमा पानीको धारा बनेपछि भोेजपुर नगरपालिका–४ सिद्धेश्वरका स्थानीयवासीको दैनिकी अहिले फेरिएको छ । आँगनको डिलमा नै पिउने पानी खस्न थालेपछि उनीहरू खुसी छन् । प्रशस्त मात्रामा पानीको सुविधा भएपछि उनीहरू अहिले तरकारी खेतीमा समेत लागेका छन् । विगतका वर्षमा घरकै लागि मात्र तरकारी उत्पादन गर्न नसक्ने उनीहरूले अहिले तरकारी बेचेर मनग्यै आम्दानी गर्न थालेका छन् ।
स्थानीय दानबहादुर खड्काले भने, ‘विगतमा पानीको निकै समस्या थियो, पानी खोज्न गाउँभरिका कुवा, धारा धाउँदैमा दिन बित्थ्यो तर अहिले घरमै पानी आउँदा निकै खुसी लागेको छ, अहिले खेर गइरहेको पानीको उपभोग गरेर तरकारी पनि उत्पादन गरेका छौं ।’तत्कालीन जिल्ला विकास समिति र सहरी विकास मन्त्रालयको सहयोगमा खानेपानी योजना सम्पन्न भएपछि अहिले उनीहरूको घर आँगनको डिलमा नै पिउने पानी खस्न थालेको हो ।

तीन वर्षको अथक प्रयासपछि स्यालखेत खानेपानी मुहान र गाठेचौर खानेपानी मुहानबाट पानी ल्याएर स्थानीयवासीलाई वितरण गरिएको छ । करिब ५४ लाख रुपैयाँको लगानीमा यी दुईवटा खानेपानी आयोजना सम्पन्न भएको आयोजना निर्माण समितिले जनाएको छ । यो आयोजनाबाट गाउँका ६० भन्दा बढी घरपरिवार लाभान्वित भएका छन् । खानेपानीको योजना सम्पन्न गरिएसँगै पानीको समस्या समाधान भएको खानेपानी उपभोक्ता समितिले जनाएको छ ।स्यालखोला उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर खड्काले भने, ‘यहाँ पानीको निकै समस्या थियो तर अहिले दुईवटा खानेपानी आयोजनाको काम सकिएपछि पानीको समस्या हटेको छ ।’
पानी आएपछि अहिले गाउँ नै हराभरा बनेको छ । प्रत्येक घरको करेसाबारीमा तरकारी खेती देख्न पाइन्छ । ‘पानी भनेको प्र्राण बचाउने तŒव हो, पानी आएपछि अहिले गाउँका स्थानीयको दैनिकी नै फेरिएको छ,’ अध्यक्ष खड्काले भने ।स्थानीयले पानीको व्यवस्था गर्नका लागि श्रमदान पनि गरेका छन् । अहिले सरसफाइ गर्न र गाईवस्तुलाई खुवाउन निकै सहज भएको छ भने तरकारीबारीमा लगाएर खेर गइरहेको पानीको सदुपयोग पनि गरिएको छ । राजधानीबाट ।









