तेह्थुम । खाँउ खाँउ र लाँउ लाउँको उमेर त्यसमाथि जिवनका रंगिन सपनाहरु बुन्न थालेको क्षण,सुखद जिवनको कल्पना गरिरहेकी एक युवतीको अकालमै घर सँगै सपना जलेर खरानी भएको छ। तेह्रथुम जिल्लाको छथर गाँउपालिका–२ हमरजुङ स्थित शुक्रबारे बजारमा मंगलबार बिहान आगलागी हुदा २० बर्षिया सम्झना कार्कीको जलेर मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरिक्षक नारायण गौतमका अनुसार आगलागीबाट सम्झनाकी आमा ५५ बर्षिया राममाया कार्की गंभिर घाईते भएकी छिन् ।
उनलाई उपचारका लागी वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ । आगलागीबाट घर पुर्ण रुपमा जलेर नष्ट हुदा करिब १० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । प्रहरी र स्थानियबासीको सकृयतामा एकघण्टा पछि आगो नियन्त्रणमा आएको थियो । मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।









