राजविराज । नेपाली कांग्रेसले जिल्लामा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाई रहँदा राजपाले विरोध गरेका छन ।राजपाका नेता तथा कार्यकर्ताहरुले कालो पट्टि वाँधेर कालो झण्डासहित जुलुस प्रदर्शन, कोण सभा र ब्ल्याक आउट गरी संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ ।राजविराजको गजेन्द्र चौकमा जम्मा भएका राजपाका नेता कार्यकर्ताहरु कालोपट्टि वाँधेर कालो झण्डासहित नगर परिक्रमा गर्दै सरकारी कार्यालयहरुमा कालो झण्डा गाडेका थिए । कालो झण्डा गाड्ने क्रममा प्रदेश सभा सदस्यद्वय मनिषकुमार सुमन र नेत्रविक्रम साह तिलाठि कोईलाडि गाउँपािलकाका अध्यक्ष सतिषकुमार सिंह, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झासहितका जनप्रतिनिधि र नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

राजविराज नगरपालिकाकी उपमेयर साधना झा भने आफनै निर्वाचित भएको राजविराज नगरपालिकाको मुल गेटमा कालो झण्डा गाड्ने क्रममा सहभागि भएका थिए ।नेता चौकमा आयोजित कोणसभालाई संवोधन गर्दै राजपाका नेताहरुले आफनो पार्टी संविधानको पुर्ण विरोध नगरी केहि धाराहरुको मात्र विरोध गरिरहेको दावी गरे । संविधान संशोधन मार्फत मधेशी, आदीवासी, जनजातिहरुको हक कुण्ठित गर्ने धाराहरु सच्याई संविधानलाई पुर्णता दिएर स्वस्फुर्त रुपमा जनताले दिपावली मनाउने स्थिती निर्माण गर्न समेत उनीहरुले माग गरे ।राजपा अध्यक्ष मण्डलका संयोजक हरेराम यादवको अध्यक्षतामा सम्पन्न विरोध सभालाई राजपाका सहमहासचिव गजेन्द्र मण्डल, केन्द्रिय सदस्यहरु विशेस्वर रजक, दिपेन्द्र चौधरी, विनोद यादव, राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका तिलाठि कोईलाडि गाउँपालिकाका अध्यक्ष सतिष कुमार सिंह लगायतले संवोधन गरे ।









