राजविराज । कांग्रेस सप्तरीका नेता तथा कार्यकर्ताहरुले राजविराज सहित जिल्लाभरिको स्थानीय तहमा मैनबत्ति तथा दीप प्रज्जवलन सहित विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएका छन् ।नेपाली कांग्रेसका महासमिति सदस्य नन्द किशोर यादवले संविधानको प्रावधान अनुसार निर्वाचित भएर तलव भत्ता खानेहरुले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउनु हास्यास्पद रहेको वताए । कार्यक्रममा नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव, महाधिवेसन प्रतिनिधि ध्रुव देव, क्षेत्रीय अध्यक्ष महानन्द यादव, जिल्ला सदस्य प्रदिप यादवसहितको नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यसैगरी, नेकपाले आफनो जिल्ला पार्टी कार्यालय र नेता चौकमा दिप प्रज्वलन गरी संविधान दिवस मनाएका छन् । त्यस्तै सप्तकोशी नगरपालिकाले प्रभातफेरी, झाँकी प्रदर्शन र कोणसभा गरी भब्यता पुर्वक संविधान दिवस मनाएको छ ।नगरप्रमुख उत्तम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमेयर आशाकुमारी चौधरी, वडाअध्यक्षहरुसहित विभिन्न पार्टीका नेताहरुले संवोधन गर्दै संविधानको पुर्ण कार्यान्ववयमा सवैले हातेमालो गर्नुपर्ने वताए । संविधानले निर्दिष्ट गरेका कुराहरुलाई ब्यवहारमा उतार्नु चुनौतीपुर्ण भएकाले हरेक नागरिकको सहयोग अपरिहार्य हुने उनीहरुको भनाई थियो ।सप्तकोशी नगरपालिकामा भने मेयर र उपमेयरसहित सवै वडामा तत्कालिन नेकपा एमाले र माओवदी केन्द्र निर्वाचित भएका छन् ।त्यसैगरी, खडक नगरपालिकाको कल्याणपुरमा पनि अन्तरक्रिया कार्यक्रम गरेर नेकपाले संविधान दिवस मनाएको छ । नेकपाका जिल्ला सदस्य सत्रुधन आजादको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रदेशसभा सदस्यद्वय गोविन्द न्यौपाने र रुवी कर्ण, नेकपाका स्थानीय नेता अयुव राईन लगायतका वक्ताहरुले संवोधन गरे ।यसैगरी नेपाली कांग्रेस विजयी भएको अग्निसाईर कृष्णासवरण, शम्भुनाथ, सुरुङ्गा, राजगढ र विष्णुपुर गाउँपालिकामा समेत विभिन्न कार्यक्रमका साथ संविधान दिवस सम्पन्न भएको छ ।









