सुनसरी । जागिर लगाई दिने वहानामा दुई किशोरीहरूलाई ललाईफकाई लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराले दुई जनालाई पक्राउ गरेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराको खहरेस्थित चेक पोइन्टमा धनुषा र सिराहा जिल्लाका ललन मण्डल र महेशप्रसाद यादवलाई शनिबार दिउसो करिब दुई बजेतिर पक्राउ गरिएको सशस्त्र बल चतराका इन्स्पेक्टर अशोक न्यौपानेले बताए ।
धनुषा जिल्लाको जनकपुर नगरपालिका वार्ड नम्बर ७ बालुवाटोलका २७ वर्षका ललन मण्डल र धरान उपमहानगरपालिका–१ बस्ने १४ वर्षीया बन्दना तथा १७ वर्षीया सेलिना राईलाई ललाईफकाई लाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरूले प्रदेश नम्बर २–०२००१ प ०११२ नम्बरको मोटरसाइकलमा हालेर लैजादै गर्दा सोधपुध गर्दा चेलीबेटी बेचबिखनको आशंकामा नियन्त्रणमा लिइएको इन्स्पेक्टर न्यौपाने बताए । अर्का सिराहा जिल्लाको नवराजपुर गाउँपालिका बस्ने २१ वर्षका महेशप्रसाद यादवलाई चतराघाटस्थित कोशी पुल नजिक बिग्रिएको मोटरसाइकल बनाउदै गर्दा पक्राउ गरिएको उनले बताए । आफूहरूलाई लाहानस्थित अस्पतालमा जागिर लगाई दिने भन्दै आमाले ललन मण्डलको साथ लगाई दिएको सेलिनाले बताइन् । अर्की बन्दनालाई बुबाले पठाएको बताइन् । उता पक्राउ परेका ललनले भने आफूहरूबीच पहिलेदेखि नै चिनजान भएको हुनाले आर्थिक अवस्था कमजोर भएकाले किशोरीहरूलाई काम लगाइ दिनका लागि आमाहरूले भनेपछि उनीहरूकै सल्लाहमा लगिएको बताए ।










