विराटनगर । प्रारम्भिक चरणको कोभिड नियन्त्रणका लागि दातृ निकाय र जनस्तरको अर्बभन्दा बढीको लगानीमा निर्माण भएको कोशी प्रदेशको कोसी अस्पताल १९ कोभिड उपचार केन्द्रका अर्बभन्दा बढी मूल्यका उपकरण दुई वर्षदेखि प्रयोगविहीन छन् ।

जनस्तर, निजी क्षेत्र, प्रदेश सरकार र दातृ निकायको सहयोगमा १० दिनमा सञ्चालनमा ल्याइएको यो अस्पताल स्थापना र सञ्चालनका लागि त्यसबेला अर्बभन्दा बढी लगानी भएको थियो ।

जनस्तर र दातृ निकायले उपलब्ध गराएका अर्बौं मूल्यका स्वास्थ्य सामग्री प्रयोगविहीन रहेर बिग्रिने अवस्थामा पुग्दा समेत त्यसको उचित व्यवस्थापन र सदुपयोगबारे कोशी प्रदेश सरकारले कुनै तयारी गरेको छैन ।

प्रदेश सरकारको मातहतमा रहेको यो उपचार केन्द्रलाई पछिल्लो पटक संक्रमण रोग तथा सघन उपचार केन्द्रका रुपमा रुपान्तरण गरिए पनि नागरिक स्तर र दातृ निकायले उपलब्ध गराएका अत्याधुनिक र मूल्यवान उपकरणमा खिया लाग्न सुरु भएको छ । यो उपचार केन्द्रको एक कुनामा प्रदेश सरकारले अहिले प्राथामिक तहको स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरेको छ । जहाँ दैनिक सरदर २५ जना बिरामीले ओपीडी सेवा लिँदै आएका छन् । तर अर्बौंका स्वास्थ्य उपकरण जडान गरिएका कक्षमा दुई वर्षदेखि ताला लगाइएको छ ।

कोभिड सुरु भएलगत्तै विराटनगरमा जनस्तरबाट गठन गरेको नागरिक केयर सेन्टर र स्विस सरकारको सहयोगमा महानगर १० स्थित नेसनल ट्रडिङको पुरानो भवन र गोदामलाई पुनर्निर्माण गरेर प्रदेश सरकार मातहतमा दातृ निकाय, जनस्तर र संघ संस्थाले उपलब्ध गराएका अत्याधुनिक उपकरणसहितको दुई सय शय्याको कोभिड अस्पताल सञ्चालन गरिएको थियो ।

अस्पतालमा ३६ वटा भेन्टिलेटर, २१ वटा आईसीयू, ४७ वटा एचडीयूको व्यवस्था छ । तर दुई वर्षदखि ती सबै प्रयोगविहीन भएर बसेका छन् । भएका उपकरण र सामग्रीको उपयोग नहुँदा दातृ निकायले उपलब्ध गराएका करोडौं मूल्यका स्वास्थ्य उपकरण जडान नै नगरी कार्टुनमै राखिएको अस्पतालका प्रशासन प्रमुख अनुपम राजवंशीले बताए ।

जनस्तर र दातृ निकायको आर्थिक तथा भौतिक सहयोगमा कोभिड संक्रमण केही नियन्त्रणमा आएपछि यो अस्पताललाई कुनै विशेषज्ञ अस्पतालको रुपमा सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले यो अस्पताल स्थापना गरेको थियो । प्रदेश सरकारका तत्कालीन स्वास्थ्य तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अस्पतालमा निजी अस्पतालका भन्दा अत्याधुनिक उपकरण र मूल्यवान् सामग्री भएको बताए । तर, दुई वर्षदेखि प्रयोगविहीन भएर खिया लाग्न सुरु भएपछि सहयोगी जनस्तर र दातृ निकाय पनि खिन्न भएको घिमिरेको बुझाइ छ । उनका अनुसार त्यहाँ प्रदेश सरकारले कुनै पनि एक दुईवटा रोगको विशेषज्ञ सेवा सञ्चालन गर्ने हो भने सर्वसाधारणले स्वास्थ्य क्षेत्रमा राहत पाउने थिए ।

यो अस्पताल सञ्चालन गर्न निजी स्तरबाट करिब तीन करोड रुपैयाँ सहयोग जुटेको थियो । नागरिक केयर सेन्टरका उपाध्यक्ष भीम घिमिरेले भने‚ ‘त्यसबाहेक स्विस सरकारले ९६ शय्याका बेग्लै अस्पताल भवन निर्माण गरेर आवश्यक उपकरण उपलब्ध गराएको थियो । त्यो सबै अहिले प्रयोगविहीन हुँदा दातृ निकाय र सहयोगी जनस्तर दुःखी बनेका छन् ।’ जनस्तर र दातृ निकायले निःशुल्क उपलब्ध गराएका सामग्री प्रदेश सरकारले सदुपयोग नै गर्न सकेन । सरकारले नै यस्तो गैरजिम्मेवारी काम गरेपछि निजी क्षेत्र, जनस्तर र दातृ निकायले आपत्कालीन अवस्थामा फेरि सहयोग गर्ने कि नगर्ने भन्ने सवाल उठ्न थालेको छ ।

स्विस सरकारले उक्त अस्पतालका लागि बेग्लै भवन निर्माण गर्नुका साथै अस्पताललाई आवश्यक पर्ने उपकरण, शय्या, १ सय ५० सिलिन्डर क्षमताका दुईवटा अक्सिजन प्लान्ट, फोहोर व्यवस्थापन र दुईवटा वाटर ट्रिटमेन्ट प्लान्टको व्यवस्था गरेको थियो । तत्कालीन सामाजिक विकासमन्त्री घिमिरेका अनुसार दुई वर्षदेखि ती सबै प्रयोगविहीन छन् ।

स्विस सरकारले यस अस्पतालका लागि अलग्गै भवन निर्माणसहित एबीजी मेसिन, वाई प्याप १० थान, सी प्याप १० थान, डेफी विलेट एक थान, भेन्टिलेटर २० थान, पेसेन्ट मोनिटर ४० थान, जेनेरल बेड सय थान, अटो प्लेट दुई थान, अक्सिजन प्लान्ट दुई थान, वाटर ट्रिटमेन्ट प्लान्ट दुई थान र करिब दुई करोड रुपैयाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र स्थापना गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको घिमिरेले बताए ।

स्विस सरकारले निर्माण गरेको भवनमा २१ वटा आईसीयू र ४७ वटा एचडीयूको व्यवस्था गरिएको थियो । घिमिरेले भने, ‘त्यसमा भर्ना भएका बिरामी र अन्यले भवनभित्र फेरेको सासलाई फिल्टर गरी किटाणुरहित बनाएर बाहिर फाल्ने अत्याधुनिक मेसिनसमेत जडान गरिएको थियो ।’

कोभिड अस्पताललाई दातृ निकायले उपलब्ध गराएका अत्याधुनिक स्वास्थ्य उपकरण र अन्य सामग्री प्रयोगविहीन रहेको स्विकार्दै प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुले त्यसको उचित व्यवस्थापन र सदुपयोगबारेमा प्रदेश सरकार टुंगोमा नपुगेको बताइन् । अभाव भएका सरकारी स्वास्थ्य केन्द्रमा ती सामग्री लगेर प्रयोग गर्न कर्मचारीतन्त्रलाई निर्देशन दिए पनि कर्मचारीले नटेरेको आरोप लगाउँदै लिम्बुले हालको स्थानमा कुनै रोगको विशेषज्ञ सेवा सञ्चालन गर्नेबारे प्रदेश सरकारले केही पनि तयारी नगरेको र यसबारे कुनै जिज्ञासा नगर्न सुझाइन् । उनले भनिन्, ‘यसबारे मलाई केही नसोध्नू । प्रदेश सरकारले पछि केही निर्णय गर्छ, त्यसपछि तपाईंले आफैँ थाहा पाउनुहुन्छ ।’

प्रदेश सरकारले त्यसबेला आपत्कालीन अवस्थामा याक्सन प्लान बनाएर कोभिड अस्पताल निर्माण गर्दा स्विस सरकारले आवश्यक सहयोग गरेको थियो । तर, उपलब्ध सामग्री पछिल्लो समय प्रयोगविहीन भएका छन् । उसबेला कोसी प्रदेशका लािग स्विस प्रतिनिधि सृष्टि जोशीले भनिन्, ‘प्रदेश सरकारले अपनत्व लिएर उपलब्ध सामग्रीको सदुपयोग गर्नुपर्ने हो तर त्यो देखिएन । हामीले त उपलब्ध सामग्री दीर्घकालीन समयसम्म सदुपयोग होस् भन्ने हो ।’ सामग्रीको सदुपयोग र उचित व्यवस्थापनका लागि आफूहरूले पनि दबाब दिँदै आएको उनले बताइन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia