झापा । झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर चोकमा इतिहास एवं भाषाविद् इमानसिंह चेम्जोङको शालिक निर्माण गरिएको छ ।
१५ लाख ६० हजार नौ सय ६६ को लागतमा शालिक निर्माण स्थलसहितको संरचनामा निर्माण गरिएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङले जानकारी दिए । यसका लागि दाताहरुबाट रु २१ लाख ५२ हजार दुई सय ५६ सङ्कलन गरिएको र रु छ लाख ३१ हजार दुई सय ९० बचत समेत भएको संयोजक चेम्जोङले बताए ।
हाल पठनपाठन हुँदै आएको किराँत भाषा र लिपिको विकास एवं विस्तारमा इमानसिंहको योगदान उच्च रहेको छ । तस्वीर चित्राङ्कित हुलाक टिकट प्रकाशन गरी सरकारले उनलाई राष्ट्रिय प्रतिभाका रूपमा मान्यता दिएको छ । यसैबीच स्व. चेम्जोङको १२१औं जन्मजयन्तीका अवसरमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले उक्त शालिक अनावरण समेत गरेका छन् ।








