२१ फागुन बिराटनगर।नेकपा (एमाले)ले सञ्चालन गरेको तीन महिने जागरण एवम् पार्टी सुदृढीकरण अभियानको समापनका अवसरमा विराटनगरमा हुने बृहत् आमसभाको तयारी तीव्र पारेको छ ।
नेकपा (एमाले) पूर्वाञ्चलको आयोजना तथा मोरङ जिल्ला कमिटीको व्यवस्थापनमा यही फागुन २२ गते हुने आमसभामा पूर्वका जिल्लाबाट एक लाखभन्दा बढी कार्यकर्ता उतार्ने एमालेको दाबी छ ।
एमाले सचिव एवम् पूर्वाञ्चल संयोजक भीमप्रसाद आचार्यका अनुसार पूर्वका जिल्लाबाट कार्यकर्ता ओसार्न प्रयोग गरिने बसको व्यवस्था, प्रचारप्रसारलगायतका काम तीव्र रुपमा भइरहेको छ ।
आमसभालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वअध्यक्ष एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव ईश्वर पोखरेललगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पार्टीलाई सिर्जनात्मक र समयानुकूल परिमार्जन गर्न कार्यकर्तालाई प्रशिक्षण र संविधानको अन्तरवस्तु प्रस्ट्याउँदै नेपालमा विधिको शासन स्थापित गर्नेसमेतको सन्देशका लागि भन्दै एमालेले अभियान थालेको छ ।
अभियानको पूर्वाञ्चल क्षेत्रको समापन विराटनगरको सहिद रंगशालामा हुनेछ । एमाले मोरङ अध्यक्ष महेश रेग्मीका अनुसार मोरङबाट मात्रै ६० हजार कार्यकर्ता सहभागी गराइने योजनामा वडा, गाउँ, नगर र क्षेत्रबाट तयारी भइरहेको छ ।
मोरङको निर्वाचन क्षेत्र नं १ बाट तीन हजार, २ बाट चार हजार, ३ बाट साढे तीन हजार, ४ बाट तीन हजार, ५ बाट छ हजार, ६ बाट १० हजार, ७ बाट आठ हजार तथा ८ र ९ बाट पाँच÷पाँच हजार कार्यकर्ता सहभागी गराउने तयारी भइरहेको बताइएको छ ।
त्यस्तै, महिला संघबाट पाँच हजार, युवा सघबाट दुई हजार, विद्यार्थीबाट एक हजार, पेसागत क्षेत्रबाट तीन हजार र अन्य साढे तीन हजार कार्यकर्ताको सहभागिताको योजना तर्जुमा गरिएको एमाले मोरङले जनाएको छ ।








